जनकपुरधाम, जेठ ३० गते । प्रदेश २ को बारा र पर्सा जिल्लामा एक/एक साताको निषेधाज्ञा बढाइएको छ ।
यी दुवै जिल्लामा संक्रमणको दरमा कमी नआएको भन्दै जेठ ३० गते रातिदेखि १२ बजेदेखि लागू हुने गरी जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको जनाइएको छ ।
सङ्क्रमणदर तिब्ररुपमा बढिरहेको सन्दर्भमा डीसीसीएमसी र जिल्ला कोभिड व्यवस्थापन समितिका विभिन्न मितिमा भएका सिफारिस अनुसार निषेधाज्ञा एक साताका लागि थपिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएको छ ।
निषेधाज्ञा अवधिमा खाद्यवस्तु, तरकारी, दुग्ध पदार्थ, फलफुल लगायतका अत्यावश्यक सामग्रीका पसल बिहान ६ देखि १२ बजेसम्म खुल्न पाउनेछन् र आदेशको उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा भनिएको छ ।
त्यस्तै पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि कोरोना संक्रमण दर फैलिन नदिनका लागि एक साता निषेधाज्ञा थपिएको बताएका छन ।
पर्सा जिल्लामा आजराति १२ बजेदेखि लागू हुने गरी असार ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो । यसअघि बिहान ८ बजेसम्म खुल्दै आएको खाद्यवस्तु, तरकारी, दुग्ध पदार्थ, फलफुल लगायतका अत्यावश्यक सामग्रीका पसल १२ बजेसम्म खुल्न पाउनेछ ।
सो आदेश पत्रमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को देहाय १७ नम्बर बमोजिम जिल्ला कोभिड व्यवस्थापन समितिको जेठ २८ गते बसेको बैठकबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन,२०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग जिल्लाभर लागू हुने निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !