जनकपुरधाम, जेठ २३ गते । प्रदेश २ मा सत्ता समीकरण बनेपछि जनता समाजवादी पार्टी उपेन्द्र यादव समुहले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई यथावत राख्दै चयन गरेको छ ।
पार्टी अध्यक्ष यादवले उपस्थितिमा जनकपुरधाममा चलिरहेको आन्तरिक बैठक गरी संसदीय दलको नेतामा राउतलाई चयन गरेकाे जसपा श्रोतले जनाएको छ ।
दुई दिनसम्म चलेकाे बैठकबाट प्रदेश सभा सदस्यहरूकाे हस्ताक्षर मार्फत सहमती लिई संसदीय दलको विधान पारित र दलको नेता चयन गरिएको जानकारी कुरा सहभागी एक प्रदेश सभा सदस्यले जनाए ।
केन्द्रिय तहमा अर्का अध्यक्ष महन्थ ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी भएपछि ठाकुर समूह अर्थात पुर्व राजपालाई एकल्याएर प्रदेश २ मा सरकार परिवर्तन खेलमा यादव समूह अर्थात पुर्व सपा खेलमा जुटेकाे छ । साे सहमति पत्रमा ठाकुर समुहका केही प्रदेश सभा सदस्य समेतले हस्ताक्षर गरेका बताइएकाे छ ।
बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राजपाबाट मन्त्री रामनरेश राय र नवलकिशाेर साह लगायत ६ जना प्रदेशसभा सदस्य गरी ३६ प्रदेश सभा सदस्यले सो निर्णयमा हस्ताक्षर गरेकाे श्राेतले जनाएकाे छ ।
प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित आजै प्रदेशसभा सचिवालयमा लालबाबु राउत चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी अन्तिम चरणमा रहेको बताइएको छ ।
दलकाे नेतामा अन्य सांसदले इच्छा गरेपनि रेणु यादवकाे अडानपछि पार्टी फुटदा अल्पमतमा पर्न सक्ने डरले राउतलाई निरन्तरता दिइएकाे श्राेतले जनाएकाे छ । पछिल्लाे पटक रेणु यादवले सपा फाेडन लाग्दा पर्सा र बारा जिल्लाका ४ जना सांसदकाे समर्थन राउतले रेणु यादवकाे पक्षमा जुटाई दिएकाे थियाे । साे बेलादेखि नै राउत र रेणुबीच राजनितिक सम्बन्ध गहरिदै गएकाे हाे ।
यादव समुहले ठाकुर समुहलाई एक्ल्याएर कांग्रेस, माओवादी र एमाले नेपाल समुह सम्मलित सरकार बनाउन अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरुलाई फुटाएर मन्त्रालयको संख्या समेत बढाउने तयारी चलिरहेको छ ।
बैठकमा सहभागी श्रोतका अनुसार सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग अलग बनाउने तयारी समेत थालेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !