जनकपुरधाम, जेठ ७ गते । कोरोना संक्रमणको दर बढदै गएपछि महोत्तरीको भंगहा नगरपालिकामा आइसोलेश वार्ड सहितको कोभिड अस्थायी अस्पताल संचालनमा ल्याउन लागिएको छ ।
संक्रमितको संख्या बढदै गएपछि नगरपालिकाद्वारा आफ्नै श्रोत साधन र बजेटमा १० बेडको आइसोलेशन कक्ष निर्माण गराइएको छ । आइसोलेशन निर्माण भएपनि दक्ष जनशक्ति र आक्सीजन आभावमा हालसम्म संचालनमा नआएपनि एक/दुई दिनभित्रै संचालनमा आउने मेयर संजीव साहले जनाएको छ ।
मेयर साहले नगरपालिकामा एमबीबीएस डाक्टर र स्टाफ नर्स र आक्सीजन ग्यासको आभाव भएको कारण आइसोलेशन निर्माण भएपनि ढिलाई हुन गएको हो । तर अथक प्रयासपछि आक्सीजनको व्यवस्थापन भइसकेको र जनशक्ति पनि करारमा नियुक्ति गरिसकिएको कारण एक/दुई दिनभित्रै कोभिड अस्थायी अस्पताल संचालनमा आउने बताए । दोश्रो चरणको कोरोना लहरमा हालसम्म सो नगरपालिकाकामा ३५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसैबीच सो नगरपालिकामा गत साताको अवधिमा कोरोना संक्रमित सहित मिल्दोजुल्दो लक्षण भएका एक दर्जनभन्दा बढीको मृत्यु भइसकेको बुझिएको छ ।
जिल्लाको भंगहा नगरपालिका ४ स्थित रामनगर बस्तीमा गत दुई सातामा कोरोना संक्रमित र लक्षण सहितका १३ जनाको मृत्यु भएको वडाध्यक्ष अशोक महतोले जनाएको छ ।
मृतकमध्ये एक ५० वर्षीया महिलामा मात्रै कोरोना पुष्टि भएको छ भने बाँकी लक्षण देखिएका व्यक्तिहरु हुन । उनका अनुसार एक महिला मात्रै संक्रमित देखिएको र ५/६ कोरोना जस्तै लक्षण ज्वरो रुघा खोकी,झाडा पखालाबाट र केहीको उमेर पुगेको कारण मृत्यु भएको हो । उनले भने सबैको कोरोना संक्रमणबाटै मृत्यु भएको हो भन्ने कुरा भन्न सकिदैन तर हाल कोरोना संक्रमण महामारी फैलिएको कारण कोरोना संक्रमणले पनि मृत्यु हुन सक्ने हो ।
वडाध्यक्ष महतोले भने संक्रमण पुष्टि भएका महिला बटेश्वर स्थित अस्पतालमा उपचार गराउन गएको बेला पीसीआर परिक्षण गराएको हो । पीसीआर परिक्षणको सुविधा नभएको कारण र तिनीहरु अस्पताल नगएको कारण अन्यमा संक्रमणको लक्षण देखिएपनि पुष्टि हुन सकेको छैन ।
गाउँमा मृत्यु हुने क्रम बढदै गएपछि गाउँहरुले त्रसित भएका छन । अहिले पनि सो वस्तीमा १० दर्जनभन्दा बढी ज्वरो, रुघाखोकी र झाडा पखालाका बिरामी छन । सबै कोरोना सँगको मिल्दो जुल्दो लक्षण भएपनि नगरपालिका वा सम्बन्धित कुनै निकायबाट पीसीआर परिक्षण समय नगरिए अवस्था अझ भयावह हुन सक्ने वडाअध्यक्ष महतोले भने ।
उता नगरपालिकाका मेयर संजीव साहले नगरपालिकासँग आफ्नो सुविधा नभएको कारण समस्या हुन गएको हो तर भोली सबैको कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पद व्यक्तिहरुको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिए ।
उनले भने बढी संख्यामा मृत्यु हुनुको प्रमुख कारण तिनीहरु बिरामी परेपछि स्वास्थ्यकर्मीको सम्पर्कमा वा अस्पताल नगई अन्दाजको भरमा औषधि पसलबाट औषधि मंगाएर खाएको कारणले समयमा संक्रमणको पहिचान र उचित उपचार नभएको कारण पनि हो ।
बिरामी बढने प्रमुख कारण लापरवाही
उनले भने स्वास्थ्य चौकीमा निशुल्क उपचार गर्दछौं तर स्थानीयमा कोरोना प्रतिको डर र लोकलाजका कारण आउंदैन घरमै आफै उपचार गर्न खोज्छन, तरपनि हामी उपलब्ध श्रोत साधनले समय समयमा स्वास्थ्यकर्मीलाई नगरका वडाहरुमा खटाएका छौं बिरामी हुँदा पनि तिनीहरु लुकाउने गर्छन ।
नगरमा यतिको संख्यामा कोरोना लक्षण देखिएपनि नगरपालिकाले ध्यान नपुग्नुको कारण बारे मेयर साहले भने नगरवासीमा जनचेतनाको आभाव र लापरवाही हो । हामीले निषेधाज्ञा पालना गराउन कडाई गरेपनि गाउँ गाउँमा लुकिछिपी बजार लगाएर भीडभाड गर्ने, संक्रमणको लक्षण देखिएपनि घरमा नबसी चौक चौराहामा घुम्ने, विवाह व्रतवन्ध, श्राद्धकर्म लगायतका सामाजिक कार्यक्रमको नाममा भेला हुने लगायतका लापरवाहीले गर्दा बिरामीहरुको संख्यामा वृद्धि हुन गएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !