जनकपुरधाम, वैशाख २६ गते । हिरासत कक्षको कैदीबन्दीमा संक्रमण पुष्टि भएपछि धनुषाको जिल्ला प्रहरी कार्यालय भित्रै तिनीहरुको लागि आइसोलेशन कक्ष निर्माण गरिएको छ ।
गत २२ गतेका दिन ५ जना थुनुवा संक्रमित भएपछि जिल्ला प्रहरी कार्यालय भित्रै भवनको पहिलो तल्लामा १० बेड सहितको आइसोलेशन कक्ष निर्माण गरिएको कुरा प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन ।
उनले भने हिरासतमा रहेका ७ जना थुनुवामा संक्रमणको लक्षण देखिएपछि पीसीआर चेक गराउदा ५ जनामा संक्रमण पुष्टि भएपछि तिनीहरुले अन्य कैदीसँग राख्न नसक्ने भएको हुनाले तिनीहरुको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले जिप्रका भित्रै आइसोलेशन कक्ष निर्माण गर्नु परेको हो ।
प्रहरी उपरिक्षक रानाभाटले भने स्वास्थ्य अवस्था सामान्य रहेको कारण होम आइसोलेशन सरह आइसोलेशन कक्ष निर्माण गरिएको छ, तिनीहरुलाई हेरचाहका लागि केही प्रहरी खटाएका छौं । तिनीहरुका लागि खाना र शौचालयको छुट्टै व्यवस्था गरिएको, अहिले सामान्य अवस्था रहेको कुनै समस्या भए थप उपचारका लागि प्रादेशिक अस्पतालमा पठाउने छौं ।
जिप्रकाको हिरासत कक्षमा हाल करीब ५० जना कैदीबन्दी रहेपनि संक्रमण लक्षण देखिएकालाई मात्र पीसीआर चेक गराउने गरिएको छ । थुनुवाको लागि पीसीआर चेकजाँचको व्यवस्था पनि जिप्रका भित्रै व्यवस्था गरिएको छ ।
अदालतबाट सजाय पाइसकेका ती कैदीबन्दी हुन, बाहिर राख्दा सुरक्षाको दृष्टिकोणले असहज हुंदा भाग्न पनि सक्थ्यो । त्यही भएर कार्यालय भित्रै छुटै कोठामा आइसोलेशन कक्ष निर्माण गरी राखेका छौं । पीसीआर रिपोर्ट निगेटिभ आएपछि जलेश्वर कारागारमा पठाइनले उनले बताए ।
त्यस्तै प्रहरी कर्मचारीको लागि जनकपुरधाम स्थित पगलाबाबा धर्मशालामा १० बेडको सम्पूर्ण सुविधा सहितको आइसोलेशन कक्ष समेत निर्माण गरिएको जानकारी उनले दिए ।
उनले भने प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको अवस्थामा पर्याप्त सुविधा नभएको कारण जिल्ला प्रहरी कार्यालयमा आइसोलेशन कक्ष निर्माण गर्न नसकिने भएको हुनाले पगलाबाबा धर्मशालामा आइसोलेशन कक्ष निर्माण गरिएको छ । हाल एक जना प्रहरी संक्रमित भएपछि उनलाई सो आइसोलेशनमा राखिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !