जनकपुरधाम, वैशाख १९ गते । कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढदै गएपछि रोकथाम तथा नियन्त्रणका गर्ने उद्देश्यले धनुषामा पनि आउंदो मंगलवारदेखि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को आइतवार बसेको बैठकबाट जिल्लामा तिव्र रुपमा बढिरहेको संक्रमणको चेन तोड्न र रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा नै उपयुक्त रहेको ठहर गर्दै वैशाख २१ गते मंगलवार बिहान ६ बजेदेखि लागु हुने गरी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिनेछ । निषेधाज्ञा उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलालले जानकारी दिएका छन ।
यसका साथै जिल्लाका अस्पतालहरुमा आक्सीजनको कमी हुन नदिने थप आक्सीजनको व्यवस्थापन गर्ने र प्रत्येक स्थानीय तहले २०/२० वटा आक्सीजन सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन समेत दिने बैठकबाट निर्णय गरिएको छ ।
बैठकबाट निषेधाज्ञा सँगै हाल बढदै गएको संक्रमितहरुको संख्याले प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड शाखाले धान्न नसक्ने अवस्था रहेको हुनाले प्रयोग विहिन रहेको मणिपाल कलेजको भवनलाई आइसोलेशनका लागि आवश्यक पुर्वाधार तयार गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
मणिपालका साथै पछिल्लो कोरोनाको लहरमा संचालनमा रहेको गुगंली स्थित आयुर्वेद कलेज र सपहीको रमदैयामा रहेको सीटीईभीटीको भवन भाडामा लिई आवश्यक पुर्वाधार तयार गरी पुर्वरत अवस्थामा आइसोलेशन कक्ष संचालनमा ल्याउन सम्बन्धित समाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरिएको प्रजिअ वास्तोलाले जानकारी दिएका छन ।
बैठकबाट प्रत्येक स्थानीय तहमा क्वारेन्टाईन र आइसोलेशन कक्ष निर्माण गर्ने निर्देशन कार्यान्वयन नभएको ठहर गर्दै तत्काल सबै स्थानीय तहलाई क्वारेन्टाईन र आइसोलेशन निर्माण गर्न लगाउनुका साथै होम आइसोलेशनमा बसेकाहरुको अनुगमन र स्वास्थ्य अवस्थाको हेरचाह गर्ने गठित सीआईसी टीमलाई सक्रिय बनाउने निर्णय गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !