जनकपुरधाम, वैशाख १८ गते । तिव्र रुपमा कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि सप्तरीमा सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागु गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिवार बसेको बैठकले आइतवार देखि जिल्लामा सञ्चालन हुने अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुने सवारी साधन बाहेक सबै सवारीमा जोर विजोर प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकल लगायतका सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिएको हो ।
त्यस्तै बैठकले बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री हुने खाद्यान्य, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने निर्णय भएको छ । बढी भिड भाड हुने मालपोत, नापी लगायतका कार्यालयमा सेवा प्रवाह गर्दा भिडभाड नहुने व्यवस्था मिलाउने निर्णय समेत भएको प्रजिअ पोखरेलले जानकारी दिए ।
बैठकबाट राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक बाहेक सबै सवारी साधन रोक लगाउने निर्णय समेत गरिएको छ । बैठकले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको पिसिआर ल्याबमा आइतवार देखि दैनिक रुपमा निःशुल्क स्वाब परिक्षण गर्ने व्यवस्था मिलाउ मेसुलाई निर्देशन दिइएको छ ।
कोरोना संक्रमित भएर बाहिरी जिल्लामा उपचारको क्रममा मृत्यु भएको खण्डमा सप्तकोशी नदिको किनारमा र अन्यको हकमा आ–आफ्नो स्थानीय तहले तय गरेको स्थानमा आफ्नो धार्मिक परम्परा अनुसार अन्त्येष्टी गर्ने निर्णय बैठकले गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !