जनकपुरधाम, वैशाख १४ गते । कोरोना संक्रमणको प्रभावका कारण आम जनतालाई खानलाउन र उपचार गराउन समस्या भइरहेको अवस्थामा प्रदेश २ सरकारले मठ मन्दिरमा हारमोयिनम र झाल कर्ताल बाँड्नमा व्यस्त देखिएका छन ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै उद्योग व्यवसाय चौपट भइरहेको क्रममा गरिव तथा विपन्नहरुलाई खान लाउन समस्या भइरहेको क्रममा तिनीहरुलाई राहत वितरण गर्नुको सट्टा प्रदेश सरकारले ४० लाख रुपैया खर्चेर मठ मन्दिर वादवादन सामाग्री वितरण गर्न लागेको हो ।
प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोरोना महामारीले विकराल रुप लिदैं गएकोमा यसको रोकथाम एवं नियन्त्रणका लागि खासै पहल नगरेपनि धार्मिक संघसंस्थाहरुलाई हार्मोनियम, मादललगायतका सामग्रीहरु बाँड्न पहल सुरु गरेको हो । मन्त्रालयले धार्मिक संघ संस्थाहरुलाई वस्तुगत सहयोगका लागि लाभग्राही छनोट सम्बन्धी ७ दिने सूचना प्रकाशन गरेको छ । लाभग्राही छनौटपछि सामाग्री खरीदका लागि टेण्डर आह्वान गरिने भएको छ ।
प्रदेशका जनताहरु कोरोना महामारीको चपेटामा परिरहेको अवस्थालाई कुनै ख्याल नै नगरि यस्तो समयमा पनि सो मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रम अनुसार धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समुह, गायन मण्डली, नृत्य समुहहरुलाई हार्मोनियम, मादल, झ्याली लगायतका सामग्रीहरु वस्तुगत सहयोग गर्न लागेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने विरेन्द्र साहले भने, कोरोना महामारीको यस विषम परिस्थितीमा जनताको ज्यान जोगाएर तिनीहरुलाई राहत दिनुपर्नेमा प्रदेश सरकारले मठ मन्दिर हारमोनियम लगायतका सामाग्री वितरण गरी बजेट दुरुपयोग गर्न लागेको हो ।
प्रदेश सरकारको यी कार्यको चौतर्फी आलोचना भइरहेको छ । नागरिक समाज तथा बुद्धिजीवीहरुले कोरोना महामारीको बेला सरकारले मास्क, सेनिटाइजर र राहत सामाग्री वितरण र अस्पतालाई व्यवस्थित बनाउनुको सट्टा मठ मन्दिरमा वाद वादन सामाग्रीमा रकम खर्च निन्दीय कार्य रहेको भनी आलोचना गरेका छन ।
यता कार्यक्रमको जिम्मा पाएका मन्त्रालयका सहायक वन अधिकृत सुजित कुमार झाले भने मन्त्रालयको अन्य निर्धारित योजना सरह यो कार्यक्रम पनि हो । सो कार्यक्रमका लागि ४० लाख बजेट छुटयाइएको छ ।
कोरोना महामारीका बेला यस्तो योजना कार्यान्वयनमा ल्याउनुको के औचित्य भने प्रसंगमा उनले भने हामी त कर्मचारी छौं कुन बजेट खर्च गर्ने र कुन होल्ड गर्ने अधिकारिक व्यक्ति मन्त्री र सचिव हुन उहाँहरुले जे गरे त्यो अनुसार आफू काम गर्ने हो ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !