जनकपुरधाम, चैत ३१ गते । नयाँ वर्षको उपलक्ष्यमा प्रदेश २ मा अनौठो घटना देखिएको छ ।
मधेश भवन भनिएका प्रदेश सरकारका एक मन्त्रालय अगाडि प्रदेश सरकार र सत्तारुढ दलका शिर्षस्थ नेताहरु भोजभतेर खाइरहेकै ठाउँमा अधिकारका लागि शहादत दिएकाहरुको परिवार आफ्नो अधिकार मांग्दै धर्नामा बसेका थिए ।
प्रदेश सरकारका मन्त्रीहरु, सत्तारुढ दलका शिर्षस्थ नेताहरु र आमन्त्रित विभिन्न निकायका प्रतिनिधिहरु त्रिपालमुनि हँसी ठट्ठा रमाइलो गर्दै भोजभतेर खाइरहेका थिए भने सो कार्यक्रम स्थल अगाडि नै शहीद परिवार चर्को घाममा भोखप्यासै अधिकार मांग्दै धर्नामा बसेको हृदयविदारक अनौठो दृश्य देखियो ।
सत्तारुढ दल जसपाका अध्यक्ष महन्थ ठाकुर सहित शिर्षस्थ नेताहरु राजेन्द्र महतो, अनिल झा र शरतसिंह भण्डारी लगायत प्रदेश सरकारका मन्त्रीहरु, संघीय तथा प्रदेश सांसदहरु भोज खाइरहेका बेला मधेश आन्दोलनमा शहादत दिएकाहरुको परिवार चर्को घाममा उभेर प्लेकार्ड बोकी टुलुटुलु हेरिरहेका थिए ।

भोज खानेहरु मध्येका कोही पनि पिडीत ती शहीदसँग सोधेन भोखप्यासै किन चर्को घाममा उभेको हो । ती शहीदको जगमा सत्तामा पुगेकाहरु लाज पचाउंदै तिनीहरुको मजाक उडाउंदै गरेको दृश्य देख्दा जो कोही पनि आँखा सक्थ्यो तर त्यसो नभई शहीदलाई अपमान भएको महसूस भएको सहभागी मध्येका एक व्यक्तिले भने ।
नव वर्ष २०७८, जुडशीतल र सिरुवा पर्वको पुर्व सन्ध्यामा मंगलवार दिउंसो प्रदेश सरकारका भौतिक विकास पुर्वाधार विकास मन्त्रालयले शुभकामना आदान प्रदानको नाममा भोजभतेर कार्यक्रम राखेका थिए । सो कार्यक्रम स्थल अगाडि नै शहीद परिवारहरु जागिरको नाममा आफूलाई ठगेको भन्दै सरकार विरुद्ध धर्नामा बसेका थिए ।
शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका प्रदेश २ का अध्यक्ष रामनरेश रायले मधेशलाई अधिकार सम्पन्न बनाउनका लागि दर्जनौँले दिएको शहादतलाई प्रदेश सरकारले त्यसलाई सत्ताका लागि भजाउने काम मात्र गरेको आरोप लगाए ।

उनले भने ‘हामी ५३ जना शहीद परिवारलाई गत वर्ष जेठ महिनामा नै प्रदेश सरकारले नियुक्ति पत्र दियो, तर त्यसमध्ये अहिलेसम्म २८ जनालाई मात्रै जागिर दिएर अन्यलाई आलटाल गर्दै ठग्दै आएका छन । अध्यक्ष रायले गत मंसिर २७ गतेका दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतका सम्बन्धित मन्त्रालयहरुलाई १४ बुँदे माग पत्र सहित ज्ञापन पत्र नै उनीहरुलाई बुझाएको बताउदैँ उनले हालसम्म पनि हाम्रो माग पुरा नहुनु दुर्भाग्यपूर्ण रहेको बताए ।
प्रदेश सरकारले शहिदको नाममा तत्काल मधेश शहिद प्रतिष्ठान गठन गरेर शहिद परिवारलाई व्यवस्थापन गर्ने भनेको डेढ महिना भइसक्यो तर अहिलेसम्म कुनै चासो नदेखाइएकोमा शहीद विभिन्न चरणको आन्दोलन गर्दै आएका छन ।

उनीहरुले नियुक्ति पत्र पाएका सबै शहिद परिवारलाई तत्काल जागिरको व्यवस्था, शहीद तथा घाइते परिवारलाई राष्ट्रिय परिचय पत्रको व्यवस्था, तिनीहरुको बालबालिकाहरुलाई उच्च शिक्षासम्म निशुल्क व्यवस्था, सुकुम्बासी शहीद परिवारलाई घरको व्यवस्था र आन्दोलनको क्रममा शिर्षनेताले घोषणा गरेको ५० लाख रुपैयाँ गरेको घोषणा कार्यान्वयन लगायतका १४ बुँदे माग अघि सारेका छन ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !