जनकपुरधाम, चैत १८ गते । । प्रहरीले सर्लाहीमा एक युवकको टाउको काटेर हत्या गरेकाे आराेपमा मामा भान्जा पक्राउ परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले एक पत्रकार सम्मेलन आयाेजना गरि मलंगवा नगरपालिका वडा नं. १० का २५ वर्षीय शुसिल कुमार यादवको टाउको काटेर हत्या गरेको आरोपमा पक्राउ परेका मामा र भान्जालाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका सर्लाहीको मंलगवा नगरपालिका वडा नं. १० का ४५ वर्षीय मामा बिमलकान्त पाठक र भारत विहार राज्य जिल्ला सितामढी थाना बथनाहा मझौलियास्टेट वडा नं. १० का ४१ वर्षीय भान्जा अशोक झा रहेकाे जिप्रकाले जनाएकाे छ ।

चैत १२ गते बुधबारको दिन मृतक शुसिलको शव मलंगवा नगरपालिका वडा नं. ९ स्थित पचगछिया चौरीमा रहेको नागेश्वर रायको खेतमा टाउको काटेको अवस्थामा फेला परेको थियो र सोही दिन प्रहरीले तिनीहरूलाई पक्राउ गरेकाे थियाे ।
सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले मृतक शुसिल र हत्या गर्ने बिमलकान्त पाठक बिच पहिला पनि विवाद भएको बताए । करिब ६ महिना पहिला बिमल कान्त पाठकको घरमा चोरी भएको थियो । उक्त चोरी शुसिल कुमार यादवले नै गरेको र तिनीहरुबिच पटक पटक वादविवाद तथा झै–झगडा हुँदै आएको थियो ।

मामा–भान्जाले शुसिललाई लागू औषध गाँजा तथा ट्याब्लेटहरु सेवन गराई लठ अबस्थामा पारेर डोरीले हात खुट्टा र जिउ बाँधी मुखमा गम्छा कोँचेर हतियार सहित घटनास्थलमा लगेको अनुसन्धानको क्रममा खुलेको छ ।
बिमलकान्तले आफ्नो घरभन्दा करिब ४/५ सय मिटर पूर्व शुसिललाई लगेर अशोकले आफ्नो घुँडाको भागले शुसिलको पेट तथा छातीको भाग थिचेर राखेको र बिमलकान्तले ल्याएको धारिलो हतियारले शुसिलको घाँटीको भागमा पटक–पटक प्रहार गरी घाँटी काटेकाे थियाे प्रहरी उपरिक्षक राठाैरले बताए ।

पक्राउ परेका मध्ये मामा बिमलकान्त यसअघि २०६९ साल भदौ १२ गते लागूऔषध नाईट्रोभेट ९ ट्याब्लेट र कोरेक्स १ बोतल सहित पक्राउ परेका थिए । अनुसन्धान पश्चात उनी २०६९ असोज १४ गते २ हजार ५ सय रुपैयाँ धरौटी तिरी तारिखमा छुटेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !