धनगढी, चैत १३ गते । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले जेल जीवन बिताइ रहेका रेशम चौधरीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
टीकापुर घटनाको मुद्दामा दोषी ठहर भएपछि जेल जीवन बिताइरहेका चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।
शुक्रबार कैलालीमा पत्रकार सम्मेलन गर्दै अर्धभूमिगत रहेका मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले टीकापुर राजबन्दीको तर्फबाट वार्ता टोली गठन गरिएको जानकारी दिएका छन ।
टीकापुर घटना प्रतिशोधको नभई राजनीतिक मुद्दाका विषयमा घटेको घटना रहेको बताउंदै उनले ‘जेल जीवन विताइरहेका कैदीबन्दीलाई तुरुन्तै निःशर्त छोड्नका लागि सरकारसँग वार्ता टोली गठन गरिएको भने ।
संयोजक थारूले टीकापुर घटनामा जेल गएकाहरूलाई निःशर्त रिहाई गर्नुपर्ने बताउँदै आफूहरूको कसैको सत्तासँग सरोकार नभएको बताए । टीकापुर घटना मुद्दामा अदालतले जेल सजाय सुनाइएपछि जेल जीवन बिताइरहेका रेशम चौधरी लगायत सात जनालाई जन्मकैद सहितको उच्च अदालत दिपायलले गरेका फैलसा बदर गरी तिनीहरुलाई निःशर्त रिहाई गरिनुपर्छ भन्ने हाम्रो मांग रहेको थारुले बताए ।
जनता समाजवादी पार्टी (जसपा) ले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहमा पुगेसँगै रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको छ ।
यसैबेला थरूहट÷थारूवान राष्ट्रिय मोर्चाले थारुले भने सत्तासँग हाम्रो कुनै सरोकार नरहेको भन्दै सरकारसँग वार्ताका लागि टोली गठन गरिएको हो ।
मोर्चाका संयोजक थारूले चैत २० गतेभित्र टीकापुर घटना सम्बन्धी मुद्दाको अपिल सर्वोच्च अदालतमा दायर गर्ने, थरूहट/थारूवान आन्दोलनले उठान गरेको मुद्दा र टीकापुर मुद्दालाई सम्बोधनका लागि संघर्षरत सबै पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !