जनकपुरधाम, चैत ८ गते । व्यवसायीहरूकाे छाता संगठन जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा वर्तमान बरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकाे छ ।
आइतबार उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा उनले औपचारिक रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी चैत २८ गते हुन गईरहेकाे जउवा संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले आफू नेतृत्वमा आएपछि व्यवसायिक विकासका लागि जनकपुरधामलाई पर्यटकीय इण्डिष्ट्रीकाे रूपमा विकासका पहल गर्नुका साथै जटही भन्सारलाई ठुलाे भन्सारका रूपमा परिणत र चांडाेभन्दा चांडाे रेल संचालनमा पहल गर्ने प्रतिबद्धता जनाए ।
जनकपुरधाममा पर्यटकहरु आउँछन तर यहाँ वास बस्दैनन् जसले गर्दा यहाँको होटेल व्यवसाय थला परिरहेकोमा उनले दुःख व्यक्त गरे । साहले जनकपुरधामका पर्यटकीय स्थलहरुलाई व्यवस्थित बनाउनुका साथै यहाँ घुम्न आउने पर्यटकका लागि समेत घुम्ने वातावरणको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दै अब जनकपुरधाम पर्यटकीय रूपमा विकास भएपछि उद्याेग व्यवसाय पनि फस्टाउने भने ।
यसका लागि एउटा सफल प्रयास रहेको आवश्यक्ता देखाउँदै उनले आफ्नो नेतृत्वमा स्थानीय, प्रदेश तथा संघ सरकारसंग समन्वय गरेर अगाडी बढ्ने बताए ।
व्यापारीहरुलाई सामान आयात तथा निर्यातका लागि देखिएको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने,‘जनकपुरधाम बजार पछिल्लो समय व्यवस्थित हुँदै गईरहेको छ अब यहाँ व्यापारीहरुका लागि सहज वातावरण निर्माण गर्नु आवश्यक रहेको छ, त्यसका लागि म पहल गर्नेछु ।’
उनले व्यापारीहरुको सम्मानका लागि आफूभन्दा अग्रजहरुको सरसल्लाह लिएर अगाडी बढ्ने आफ्नो धोको रहेको सुनाए । उनले पछिल्लो समय उद्योग वाणिज्य संघमार्फत हुन नसकेका कामहरु पूरा गरेर देखाउने दावी गरे ।
साह बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडी जनकपुरधाम उद्योग वाणिज्य संघमा कोषाध्यक्ष र महासचिव भएर समेत काम गरिसकेका छन् । आफूसंग संघको विभिन्न पदमा बसेर काम गर्ने अनुभव रहेकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको साहले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !