जनकपुरधाम, चैत ६ गते । राजश्व अनुसन्धान टोलीले अनुगमन गरिरहेको हल्लैहल्लामा जनकपुरधाम बजार गत ३ दिनदेखि बन्द हुँदै आएको छ ।
बिहान पसलहरु खुल्छन तर अनुसन्धान टोली आयो भन्ने हल्ला चलेपछि जनकपुरधाम बजारका पसलहरु धमाधम बन्द थाल्छन । गत सातादेखि राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट टोली पसलहरुमा स्थायी लेखा नम्बर र कर चुक्ता लगायतका कागजात खोज्दै छापामारी गरिरहेको हल्ला जनकपुरधाममा चलेको हो ।
कोरोनाको कारण लकडाउन गरिएपछि थलिएको व्यवसाय पुरानो अवस्थामा फर्किदै गरिरहेकै क्रममा राजश्व कार्यालयबाट छापा मार्न टोली घुमिरहेको हल्लाले गर्दा पसलहरु बन्द हुने र खुल्ने गरेको एक स्थानीय व्यवसायीले बताए ।

पसल बन्द बारे जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले भने राजश्व अनुसन्धानको टोलीले छापामारी गरिरहेको हल्लाले गर्दा व्यापारीहरु आफै पसल बन्द गरेका हुन । उनले भने राजश्वले बजार अनुगमन गरिरहेको छ भने अधिकारिक जानकारी आफू कहाँ आएको छैन । छापामारी गर्दा कोही पक्राउ परेको कुरा पनि आएको छैन ।
अध्यक्ष साहले भने व्यवसायीहरुलाई ढुक्क भएर पसल खोल्न पटक पटक आग्रह गर्दा पनि छापामारीको डरले व्यवसायीहरु त्रसित भएका हुन । छापामारीबाट व्यवसायीलाई डराउनु पर्ने कारण के हो भन्ने विषयमा उनले भने किन डराई रहेको छ त्यो त थाहै पाउन सकिरहे छैन ।
तर स्थानीय व्यवसायीहरुका अनुसार स्थानीय लेखा नम्बर नभएका र समयमा कर नुबुझाएका पसलेहरुले कारवाहीमा पर्न सक्ने डरले राजश्व टोली आयो भन्ने हल्ला उठेपछि धमाधम आ आफ्नो पसल गर्न थाल्छन । जुन कागजी रुपमा दुरुस्त व्यवसायी छन त्यसले आफ्नो खुल्लै राखेका छन ।
उता राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले आफुहरुको अनुगमनका लागि कुनै टोली जनकपुरधाम नगएको बताएका छन । बजारमा कसले छापामारी गरेको हो होइन बारे आफूलाई थाहा छैन ।
यसैबीच जनकपुर उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गरी मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क र बहाल कर लगायतका कुराहरुको सम्बन्धमा राजश्व विभागले छापामारी भइरहेको कुरा भ्रामक र अफवाह मात्र हो ।

संघका अध्यक्ष ललित साह र महासचिव जितेन्द्र महासेठद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा अनुगमन लगायतका हल्लाको पछाडि नलागेर निर्धक्क भई आ आफ्ना पसल पुर्वरत अवस्थामा संचालन गर्न र त्यस्तो कुनै समस्या परे संघमा सम्पर्क राख्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
जनकपुरधाम मात्रै होइन यसअघि धनुषाको महेन्द्रनगर, महोत्तरीको औरही, गौशाला, जलेश्वर सहितका ठाउँमा राजश्व टोलीले छापामारी गरिरहेको हल्लाले पसल तथा व्यवसाय बन्द भएको थियो । तर हाल ती ठाउँमा हल्ला बन्द भएपछि अब जनकपुरधाम बजारमा तिव्र रुपमा हल्ला फैलिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !