जनकपुरधाम, फागुन १९ गते । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट १५ जना दलाललाई पक्राउ गरेका छन ।
बुधवार दिउंसो काम गराई दिने भनी सर्वसाधारण सँग मोटो रकम लिने र काम गराउने गएका सेवाग्राहीलाई दुख दिने गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिप्रका धनुषाका अनुसार पक्राउ पर्नेहरुमा श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्द्न साह, संजय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव लगायत १५ जना दलाल रहेका छन ।
दलालहरुको कारण कार्यालय भित्र भ्रष्टाचार र विकृति मौलाएको कारण काम गराउन समस्या भइरहेको भन्ने सेवाग्राहीबाट गुनासो आउन थालेपछि अनुगमनको क्रममा तिनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले बताएका छन ।
सवारी चालक अनुमतिपत्र, नवीकरण लगायतको काममा सेवाग्राहीबाट मोलमोलाई गरी रकम लिएर काम समेत नगर्ने गरेको तथा कर्मचारी संग मिलेर रकम चलखेलमा सक्रिय दलाललाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको उनले बताए ।
केही दिनअघि यातायात कार्यालयबाट एक कार्यालय सहयोगी र एक बिचौलिया घुस रकमसहित अख्तियार अनुसन्धान आयोगको टोलीले छापामारी गर्दै पक्राउ गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !