जनकपुरधाम, फागुन १९ गते । सत्तारुढ दलको आन्तरिक किचिलोको कारण नयाँ अधिवेशन शुरु हुन नसक्दा गत ५ महिनादेखि प्रदेश २ को प्रदेश सभाको बैठक बस्न सकेको छैन ।
प्रदेश सरकारमा बसेका मन्त्रीहरुले पद गुम्ने डरले प्रदेश सभालाई बन्धक बनाई बैठक बसाउन नसकेको आरोप सत्तारुढ दलकै सांसदहरुकै रहेको छ ।
नाम नउल्लेख गर्ने शर्तमा सत्तारुढ दल तात्कालिन राजपाका एक सांसदले पार्टी एकीकरण भएपछि महिनौदेखि संघीय समाजवादी पार्टी र राजपाबाटबाट संसदीय दलको नेता र प्रमुख सचेतकको छुट्टा छुट्टै सुविधा पाइरहेका छन, ती सुविधा गुम्ने डरले बैठक बसाउन सकेको छैन बताए ।
प्रदेश सभाको अधिवेशन सकिनु अघिदेखि नै संसदीय दलको नेता चयनका लागि विवाद हुँदै आएकोमा पार्टी नेतृत्व वर्गले पनि निर्देशन दिइसकेको थियो तर संसदीय समिति चयन गर्न जिम्मेवारी पाएका राजपाबाट भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल र सपाबाट मुख्मयन्त्री लालबाबु राउतले पद गुम्ने डरले डरले ढिलाई गर्दै आएको उनले भने ।
आफूहरु संसदीय पदाधिकारी चयनका लागि पटक पटक ताकेता गर्दा प्रदेश सभाको आगामी बैठक बस्नु अगावै संसदीय समिति चयन गर्ने प्रतिबद्धता जनाउंदै आएको थियो । तर संसदीय समिति चयन भएपछि मन्त्रिपरिषद समेत हेरफेर हुने सक्ने डरले जिम्मेवारी पाएकाहरुले आनाकानी गर्दै आएको ती सांसदले भने ।
गत कात्तिक ३ गतेका दिन पछिल्लो बैठक बसेर चौथो अधिवेशनको बसेर ४ गते अन्त्य भएको थियो । तर प्रदेश सरकारमा बसेकाहरुको व्यक्तिगत स्वार्थका कारण पांचौ अधिवेशन शुरु हुन नसक्दा प्रदेश सभाको बैठक बस्न नसकेको हो ।
उता प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने केही दिन कोरोना प्रभावको कारण बैठक डांक्न सकिएन । त्यसपछि प्रतिनिधि सभा विघटनले गर्दा उत्पन्न राजनीति उथल पुथलको कारण बस्ने सकेन । तर चैतको पहिलो सातामै प्रदेश सभाको बैठक बोलाउने गरी तयारी भइरहेको छ ।
संसदीय दलको नेता चयन सम्बन्धी पार्टीको आन्तरिक किचिलोकोक कारण बैठकमा ढिलाई भइरहेको प्रसंगमा उनले भने यो गलत आरोप हो, त्यस्तो केही छैन । संसदीय दलको नेता चयन र प्रदेश सभाको बैठकबीचमा कुनै सरोकारै छैन । दुवै दुईटा विषयवस्तु हो यदि कसैले पार्टीको आन्तरिक किचिलोका कारण ढिलाई भइरहेको भन्छन त्यो गलत ।
बैठक बसाउन मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिपक्षी दल सहित सत्तारुढका सांसदहरुले दबाव दिंदा केही दिनमा बसाउंछु भनी आनाकानी गर्दै आएको छ । बैठक बस्न नसक्दा प्रदेश सभामा छलफलका थन्किएका दर्जनौ विधेयक, आ–आफ्नो ठाउँका समस्या, जनताको समस्याबारे छलफल गर्न नसकिएको सांसदहरूको गुनासो छ ।
प्रतिपक्षी नेकपा दाहाल नेपाल समूहका संसदीय दलका नेता शत्रुध्न महतोले भने संघीय संसद विघटनले गर्दा हामी सबै दल आन्दोलनमा लागेका कारण ध्यान पुगेन । तर आन्दोलनकै क्रममा मुख्यमन्त्रीज्यूले फागुन महिना भित्रै बसाउने भेटघाटमा भनेको थियो । त्यसपछि कुनै छलफल भएको छैन ।
त्यस्तै अर्का प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव मुख्यमन्त्री सहितका मन्त्रीहरुलाई भेटेर नै प्रदेश सभाको बैठक बोलाउने बारे कुराकानी भएको थियो । दलहरू आन्दोलनमा लागेका कारण गम्भीर रुपमा कुराकानी भएन । तर चाँडै बस्ने भन्ने आश्वासन मुख्यमन्त्रीबाट पाएको थिए, हेरौं कहिले बस्छ ।
प्रदेश सभाको बैठक बस्न नसक्दा विभिन्न विधेयकहरु थन्किएका छन, जनताका बिभिन्न समस्याबारे छलफल गर्न नसक्दा कठिनाई भइरहेको सत्ता पक्षका सांसद मनिष सुमनले बताएका छन । बैठक बस्दा सरकारले गरिरहेका कामको बिषयमा जानकारी पाउनुको साथै जनताको समस्या बारे छलफल गर्ने अवसर हुन्छ तर त्यो क्रम नै बन्द हुन गएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !