जनकपुरधाम, फागुन ८ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नै पार्टीका केही गलत तत्वका कारण सरकार बचाउन निर्वाचनमा जानु परेको बताए ।
धनुषा चेम्बर अफ कमर्सको जनकपुरधाममा आयोजित साधारणसभा कार्यक्रमको सम्बोधनको क्रममा उनले आफ्नै पार्टी भित्रका केहि गलत तत्वहरुले सरकारलाई काम गर्न नदिई धरापमा पार्न खोजेपछि प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको भने ।
उनले भने, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले बहुमत दिएका सरकारलाई धक्का मारेर म्युजिकल चेयर झै बस्न खोजेपछि जनताको बहुमतलाई कदर गर्न जनताबाटै निर्णय होस भन्ने उद्देश्यले संसद विघटन गरि जनताको बिचमा जाने निर्णय गरिएको हो ।
उनले भने, हामीलाई सबैले गलत भनिरहेको छ तर निर्वाचनबाट नै जनताले सही गलतको पहिचान गर्नेछ । जनताभन्दा बढी ठूलो न्यायधिश कोही छैन, हामी गलत छौं भने जनताले दण्डित गर्छन यदि सही छौं भने जनताले आफ्नो अमूल्य मत दिएर पुरस्कृत गर्नेछ ।
त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन जरुरी छ । निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना पनि साकार हुने उपप्रधानमन्त्री पोखरेलले भने । ताजा जनादेश मात्र होइन राजनीति स्थायितव र मुलुकको निकासका लागि समेत निर्वाचन नै एकमात्र विकल्प रहेकाले सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ भन्ने ढुक्क हुनुस भन्दै निर्वाचनमा जुटन नेता कार्यकर्ताहरुलाई निर्देशन उनले दिए ।
पार्टीको भित्रको विवाद बारे उनले भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म केही गर्न नसकी पद लोलुप्ता मै लागे भन्दै हामी युवा पुस्तालाइ नेतृत्व दिन खोजिरहेका छौं तर उनीहरु कुर्सीमा चिप्केर बस्न चाहनु हुन्छ पार्टी भित्रको मतभेद त्यही हो ।
एक अर्को प्रसङ्गमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनकपुर–जयनगर रेल्वे चांडै नै संचालन हुने प्रतिबद्धता जनाए । उनले भने ठ्याक्कै यही मितिदेखि संचालन हुन सक्छ भन्न सक्दैन तर चाँडै संचालनमा आउनेछ भन्नेमा ढुक्क हुनुस ।
चेम्बर्स धनुषाका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य रामचन्द्र मण्डल, चेम्बर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठ लगायतका व्यक्तिहरुले पनि आ आफ्ना धारणा राखेका थिए भने सो कार्यक्रममा चेम्बर्ससँग आबद्ध पदाधिकारी, उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !