काठमाडौ, माघ २७ गते । शिक्षकलाई पनि कोभिड विरुद्धको खोप लगाउन मांग गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंतीमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग मांग गरेको हो ।
मन्त्रालयले मंगलबार सचिव स्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ ।
सो पत्रमा प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौ भनिएको छ । यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतक सरोकारवाला निकायले लाखौ विद्यार्थीसंग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

शिक्षक महासंघका अध्यक्ष बावुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरेको थियो । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न आग्रह गरेका थिए ।
यही माघ १४ गतेबाट शुरु भएको अभियानको दोस्रो चरण सोमबारदेखि शुरु भैसकेको छ । सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शु्रु गरसकेको छ ।
कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो ।
स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरिसकेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !