जनकपुरधाम, मंसिर १५ गते । देशभरमा सोमवार सयौं स्थानीय तहमा स्वास्थ्य संस्थाको शिलान्यास गरिएपनि धनुषाको शहीदनगर नगरपालिकामा वडाको विवादले हुन सकेन ।
वडा नम्बर ३ मा निर्माण गरिने सिफारिस गरिएका नगर अस्पताललाई मेयर उदय बरबरियाले मनपर्दी रुपमा वडा नम्बर ८ विसरभोरामा लगेको भन्दै स्थानीयले विरोध जनाएपछि सो शिलान्यास कार्यक्रम रोकिएको हो ।
आइतवार वडा नम्बर ३ का अध्यक्ष नागेन्द्र प्रसाद मण्डल र स्थानीय रितेश यादव लगायत सो वडाका स्थानीय युवाहरुको नेतृत्वमा मेयरको मनपर्दी विरुद्ध विरोध प्रदर्शन गरिएको थियो । स्थानीयले विरोध प्रदर्शन गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादवलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।
ती प्रदर्शनकारी युवाहरुले मेयरको मनपर्दी बन्द गर, प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल कायम गर, केन्द्रको सिफारिस गरिएको निर्णय सच्याउन सिफारिस गर र सोमवार हुने शिलान्यस बन्द गर लगायतका नारा सहितका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी समेत गरेका थिए ।
स्थानीय युवाहरुले वडा नम्बर ८ विसरभोरमा सिफारिस गरिएको निर्णय अविलम्ब कार्यपालिकाको बैठकबाट सच्याई पायक पर्ने ठाउँमा यदुकोहा वडा नम्बर ३ का लागि सिफारिस गर्न आग्रह ज्ञापन पत्र मार्फत गरेको थियो ।
स्थानीय युवाहरुको विरोध पश्चात प्रमुख प्रशासकीय अधिकृत यादवले सोमवार नगर अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेतापनि जग्गा प्राप्ति हुन सकेको कारण रोकिएको एक सूचना जारी गरी जनाएको छ ।
सो सूचनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जग्गा प्राप्ति नगरेका स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरी अविलम्ब जग्गा प्राप्त गरी भवन निर्माण गर्ने प्रक्रिया अघि बढाउने भनिएको हुनाले यस नगरपालिकामा शिलान्यस कार्यक्रम नरहेको जनाएको छ ।
सूचनामा अधिकृत यादवले सम्पूर्ण कुरा स्पष्ट पारेपनि जग्गा विवादकै कारण शिलान्यस रोकिएको भन्ने कुरा खुलाएको छैन । सूचनाको निष्कर्ष जग्गा प्राप्ति नभएको कारण शिलान्यास हुन नसकेको देखिन्छ ।
मेयर बरबरियाले लोकपुकार सँग भने शिलान्यास रोकिएको स्वीकार गर्दै भने वडा नम्बर ३ र ८ को विवादले गर्दा रोकिन गएको हो । उनले भने स्वास्थ्य मन्त्रालयबाट वडा नम्बर ८ का लागि सिफारिस गरिएको हो तर वडा नम्बरका स्थानीयले विरोध गर्दा तत्कालका लागि स्थगित गर्नु परेको हो ।
मेयरद्वारा नै वडा नम्बर ८ को लागि सिफारिस गरिएको आरोप बारे उनले भने यो आरोप निराधार र गलत हो । कुन पालिकामा कहाँ बनाउने हो भन्ने निर्णय संघीय सरकारको मन्त्रिपरिषदबाट गरिएको हो, तर हामी खोजबीन गर्दछौं विसरभोराका लागि कहाँबाट कसले गरयो । जग्गाको समस्या समाधान हुन बितिकै शिलान्यासको नयाँ मिति तोकिने मेयर बरबरियाले बताए ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !