जनकपुरधाम, कात्तिक ३० गते । धनुषाको लवटोली गाउँमा हिन्दु मुस्लिम समुदायबीच भएको झडपमा परी दुई दर्जनभन्दा बढी घाइते भएको छ ।
जिल्लाको नगराईन नगरपालिका ७ लवटोली गाउँमा आइतवार बिहान हिन्दु र मुस्लिमबीच भएको झडपमा परी हिन्दु तर्फका १३ र मुस्लिमतर्फका ११ जना घाइते भएको जनाइएको छ ।
दिपावलीको अवसरमा शनिवार राति पटाखा फोडेको निहुँमा भएको विवादले आइतवार बिहान दोहरो झडपमा परिणत भई झडप भएको हो । झडपमा घाइतेका साथसाथै घरका सामानहरुको तोडफोड समेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिन्दुतर्फ शिवचन्द्र यादव, रामपुकार यादव, मुकेश यादव, अंकुश यादव, दर्शन यादव, गंगा प्रसाद शर्मा, रामकिशोर यादव, रंजितकुमार ठाकुर, नवल यादव, ललन यादव, देवलाल यादव, रञ्जित यादव रहेका छन ।
त्यस्तै मुस्लिमतर्फ मोमिना खातुन, समसुदीन नादाफ, अब्दुल नादाफ, सलाम नादाफ, बर्दि नादाफ, मो. अमजद नादाफ, संजदा खातुन, अख्तर मन्सूर, सदाम हुसैन र सदुला खातुन घाइते भएका छन ।
घाइतेहरुको उपचार प्रादेशिक अस्प्ताल जनकपुरधाम भइरहेको छ भने केही सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ ।
झडप बारे दुवै समुदायका आ आफ्नै दाबी छ । मुस्लिम पक्षले पटाखा छोडेर मस्जिदमा फ्याकेको आरोप लगाइरहेका छन भने हिन्दु पक्षले आफूहरु पूजा गरिरहेको क्रममा प्रहरी लगाएर पुजा बन्द गराएको भनेका छन ।
घाइते देवलाल यादवले भने लोकपुकारसँग भने शनिवार राति दिपावलीको अवसरमा लक्ष्मीको स्थानीयले आयोजना गरेको थियो । पुजा चलिरहेकै क्रममा आफूहरुलाई डिस्टर्ब भयो भनेर प्रहरी लगाएर पूजा बन्द गराएपछि विवाद उत्पन्न भयो र आइतवार बिहान सो विवाद उग्ररुप लिई झडमा परिणत भएको हो ।
तर मुस्लिम पक्षका घाइते सदाम हुसैनले पटाखामा आगो लगाई मस्जिदमा फ्याक्ने गरेको कारण अवरोध गर्दा आइतवार बिहान सोही विषयलाई लिएर विवाद भई आइतवार बिहान झडपमा परिणत भएको बताएका छन ।
स्थानीयहरुको अनुसार झडपको क्रममा दुवै पक्षबाट लट्ठी र घरेलु हतियार प्रयोग भएको कारण बढी संख्यामा घाइते भएको छ । हाल प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोली घटना स्थलमा दुवै पक्षबीच विवाद समाधानका लागि समन्वयम गराउन गाउँमै पुगेका थिए ।
उता नगरपालिकाका मेयर परमेश्वर यादवले घटनाको प्रमुख दोषी प्रहरी रहेको बताएका छन । उनले भने प्रहरीले हस्तक्षेप गरी पूजास्थलबाट साउण्ड बक्स उठाएर लगी पूजा बन्द गराई सामान्य विवादलाई झडपमा परिणत गराएको हो । मेयर यादवले भने झडप भइरहेकोमा समयमा प्रहरी घटनास्थलमा आइ दिएको भए यति ठूलो संख्यामा क्षति हुने थिएन ।
यता प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले घटना सम्बन्धमा छानबीन भइरहेको भन्दै दोषीलाई कानून बमोजिम कारवाही हुने जनाएको छ ।
सो गाउँमा भएको विवाद पहिलो होइन यसअघि पनि कयौं पटक हिन्दु मुस्लिम समुदायबीच झडप भइसकेको छ । यसअघि दाहाको फोटो समाजिक सञ्जालमा राखेको भन्दै दुवै समुदायबीच झडप भएको थियो ।
श्रोतका अनुसार वास्तवमा विवाद सार्वजनिक जग्गाको रहेको छ । मस्जिद नजिकै करीब ८ कट्ठा विग्घा सार्वजनिक जग्गा दुवै पक्षले कब्जा गर्न खोजेको कारण विवाद हुँदै आएको हो ।
हिन्दु समुदायले त्यसमा मन्दिर बनाउने भन्दै आएको छ भने सो ठाउँमा मुस्लिम समुदाय फोहर फाल्दै आएको कारण विवाद हुँदै आएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !