जनकपुरधाम, कात्तिक २० गते । कोरोना संक्रमणबाट प्रदेश २ मा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा सप्तरीमा ४ र सिराहामा एक जनाको मृत्यु भएको जनाइएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विष्णुपुर गाउँपालिका २ निवासी २३ वर्षिय एक महिला, राजविराज नगरपालिका ८ का ६५ वर्षिय पुरुष र महादेवा गाउँपालिका ४ का ३० वर्षिय पुरुष र वडा नम्बर ६ का २८ वर्षिय पुरुष तथा सिराहा विष्णुपुर गाउँपालिका १ को ८४ वर्षिय वृद्धको संक्रमणबाट मृत्यु भएको हो ।
निर्देशनालयका निमित निर्देशक विजय झाले दिएको जानकारी अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररको क्रममा बिहीवार विष्णुपुर गाउँपालिकाकी महिलाको मृत्यु भएको हो ।
गत १८ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएको मृतक महिलालाई त्यसको भोलिपल्ट प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेको थियो । उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मकी बिरामी रहेकी थिइन ।
त्यस्तै राजविराज नगरपालिका र महादेवा गाउँपालिकाका दुवै पुरुषको उपचारको क्रममा विराटनगरस्थित म्याक्स अस्प्तालमा मृत्यु भएको हो । गत १५ गते दुवै जनामा कोरोना पुष्टि भएको थियो ।
मृतक चारै जनाको शव व्यवस्थापनको आवश्यक तयारी भइरहेको झाले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !