जनकपुरधाम, कात्तिक ११ गते । नेकपा गाउँ कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य योजनाकार सहितका व्यक्ति विरुद्ध किटानी जाहेरीको मांग गर्दै मंगलवार ५ औं दिनपनि आन्दोलन जारी रहेको छ ।
नेकपा प्रतिनिधि सभा सदस्य मातृका यादवको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नेकपा नेता तथा कार्यकर्ताहरु किटानी जाहेरी गर्न मांग गर्दै प्रहरी विरुद्ध मंगलवार पनि धर्ना लगायतका आन्दोलन जारी रहेको छ ।
पर्सा जिल्ला विन्दवासिनी गाउँपालिकाका सचिव चौरसियाको हत्यामा संलग्न दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै नेकपा नेता कार्यकर्ताहरुले जारी चरणबद्ध आन्दोलनलाई निरन्तरता दिंदै दोश्रो चरणको आन्दोलन समेत घोषणा गर्ने भएका छन ।
संचारकर्मीसँग सांसद मातृका यादवले भने घटनाका मुख्य योजनाकार पूर्व सांसद राजकुमार गुप्तालाई प्रहरीले बचाउन घटनाको ५ दिन बितिसक्दा पनि मुद्दा दर्ता गरेको छैन ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हत्याराहरुको अगाडी प्रहरी मुकदर्शक बनेको आरोप लगाउंदै भने– मुख्य योजनाकारको नाम काटेर जाहेरी दिएमा दर्ता गर्ने, तर हाम्रो माग हत्यारा र मुख्य योजनाकारलाई समेत पक्राउ गरी सत्यतथ्य छानविन गरेर कारवाही गर्नुपर्ने अडान हाम्रो हो ।
प्रहरीले यदि मुद्दा दर्ता गरेन भने के गर्ने भन्ने जिज्ञासामा पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका सांसद यादवले भने हामी चरणबद्ध आन्दोलनमा छौं भोली बुधवारसम्म हामी अझ कडा आन्दोलनको घोषणा गर्नेछौं । आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी राज्यलाई लिनुपर्नेछ ।
नेकपा पर्सा विन्दवासनी गाउँपालिका कमिटीको गत बिहीबार आयोजित सपथ ग्रहण कार्यक्रममा भएको दोहरो झडपमा परी नेकपा गाउँकमिटी सचिव समेत रहेका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनी प्रहरी नियन्त्रणमा रहेको छ भने सोही दिन गुप्ता सहित ५ जनालाई रिहा भइसकेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !