रौतहट, असोज ९ गते । रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको भन्ने निष्कर्ष छानविन समितिले निकालेको छ ।
सो घटनामा समितिले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्का, प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरेको बताइएको छ । समितिकै सिफारिस अनुसार तिनीहरु विरुद्ध विभागीय कारबार्ही प्रहरी प्रधान कार्यालयले अघि बढाउने छ ।
प्रहरीले ३२ साउनमा गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा १९ वर्षीय विजय रामलाई पक्राउ गरेको थियो । हिरासतमा रहेकै बेला स्वास्थ्य विग्रिएको भन्दै प्रहरीले उपचारको लागि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा लगेको थियो र त्यही उनको मृत्यु भएको थियो ।
प्रहरीले बिमारीको कारण मृत्यु भएको दाबी गर्दै आएको तर, विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएका थिए । मृत्युअघि अस्पतालमा विजयले आफूलाई प्रहरीले हत्या अभियोग स्वीकार गर्न यातना दिएको बयान दिएको भिडियो समेत सार्वजनिक भएपछि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उपसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
प्रदेश २ का प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एसपी सदस्य रहेको समितिले गृह सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको छ ।
हिरासतमा गएर यातना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको पनि उनले बताए । तीनै जनालाई प्रदेश २ प्रहरी कार्यालयले १६ भदौमै निलम्बन गरिसकेको छ ।
मृतकका बुबा पनिलाल रामले पनि छानविन समितिकै सिफारिस जस्तै नयाँ जाहेरी पनि प्रहरीलाई दिएका छन् । उनले २५ भदौमा तत्कालीन एसपी खड्का, डीएसपी महतो, सई यादवसहित ६ जनालाई प्रतिवादी बनाएर यातना तथा ज्यानसम्बन्धी कसूरमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत किटानी जाहेरी दर्ता गराएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !