महोत्तरी, असोज ८ गते । हातहतियार तथा डकैती मुद्दाका फरार एक अभियुक्तलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका ६ बस्ने ३० वर्षीय मुन्ना बण्ठा भनिने सतेन्द्र कुमार यादव रहेको छ । प्रहरीले उनलाई स्थानीय मरहा खोला नजिक क्रिकेट खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका यादव महोत्तरी र सर्लाही जिल्लाका बिभिन्न घट्नामा संलग्न रही फरार रहेका थिए । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कायालय महोत्तरीमा राखिएको र उनलाई पीसीआर टेस्ट गराई जिल्ला अदालतमा पेश गरिने महोत्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिएका छन ।
महोत्तरी प्रहरीका अनुसार जिल्लाको बलवा नगरपालिका–३ परौलस्थानस्थित जय बाबा कारिक मनी ट्रान्सफरमा लुटपाट गर्ने योजना यादवले बनाएका थिए सोही क्रममा पक्राउ परेका हुन । पक्राउ परेका यादवविरुद्व मुख्य तीन अभियोग रहेको छ ।
सतेन्द्र विरुद्ध २०७६ साल मंसिर २३ गते औरही नगरपालिकास्थित जंघा खोलाको बगरबाट ४ राउण्ड गोली लोड गरिएको नलकटुवा पेस्तोल १ थानसहित राकेश यादव पक्राउ परेका थिए भने सतेन्द्र फरार भएका थिए । प्रहरीले पछि उनीविरुद्व हातहतियार खरखजाना तथा डाँका उद्योग मुद्दा चलाएको थियो ।
यस्तै, २०७५ साल पुस २३ गते राति १ बजे महोत्तरीकै मनरासिस्वा नगरपालिका–२ भोलही चोकस्थित रामसेवक यादवको घरमा १५–१६ जनाको हतियारधारी डाँकाहरुको समूहले गोली फायर गरी बम बिष्फोट गराई नगद र सुनका गहना लुटेका थिए । उक्त घट्नामा पनि संलग्न सतेन्द्रविरुद्व डाँका तथा संगठित अपराध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
२०७५ मंसीर २० गते सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर साह नेपाल इन्भेष्टमेन्ट बैंकबाट नगद ९ लाख ९० हजार झिकेर ना.५५प ९५९३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा सतेन्द्र र गंगाधर साह पेस्तोल देखाइ लुटपाट गरेको थिए । सो घट्नामा पनि प्रहरीले सतेन्द्र विरुद्ध डाँका तथा संगठित अपराध मुद्दा दर्ता गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !