जनकपुरधाम, भदौ ३० गते । आगामी असोज २४ गते हुने भनिएको अधिकारित ट्रेड युनियनको निर्वाचन तत्काल स्थगित नगरिए आन्दोलनमा जाने नेपाल मधेशी निजामति कर्मचारी मञ्चले चेतावनी दिएका छन ।
मञ्चले मंगलवार एक विज्ञप्ति जारी गरी आफूहरुले मुख्यसचिव मार्फत प्रधानमन्त्रीलाई मांग बारे जानकारी गराएपनि त्यसलाई बेवास्ता गरी निरंकुशशैलीमा निर्वाचन गराउन लागेकोले हामीलाई मान्य नहुने भन्दै तत्काल स्थगित गर्न मांग गरेको छ ।
मञ्चले यसअघि कोरोना भाइरस महामारीले गर्दा असोज २४ गते युनियनको सीबीए निर्वाचन गराउनु डब्बलूएचओको कोरोना नियन्त्रण गाइडलाईन विपरित हुने र धरातलीय रुपमा अव्यवहारिक समेत हुने भएको तत्काल स्थगित गरी चैत महिनामा गराउन मांग सहित मञ्चले प्रधानमन्त्रीलाई माँग पत्र बुझाएका थिए ।
मञ्चले बुझाएको ४ बुँदे मांग पत्रमा हाल जारी लकडाउन र निषेधाज्ञाको कारण दुई महिनाभित्र व्यवस्थित र सहभागितामूलक रुपमा सम्पन्न हुन नसकेको निर्वाचन परिणाम सर्वस्वीकार्य नहुने भनिएको थियो । निर्वाचन स्थगन नभए आन्दोलनका लागि तयार रहन मधेशी कर्मचारीहरुलाई मंचका अध्यक्ष भुवनेश्वर चौधरीले विज्ञप्ति मार्फत अनुरोध गरेका छन ।
युनियनको पछिल्लो निर्वाचनमा ७.८ प्रतिशत मत ल्याएपनि लादिएको १० प्रतिशत थ्रेसहोल्ड प्रणालीले गर्दा ८ प्रतिशत मधेशीको निजामति सेवामा सहभागिता भएपनि युनियनमा प्रतिनिधित्व गर्नबाट वंचित रहेको भन्दै मञ्चले समानुपातिक समावेशी सिद्धान्त कायम गर्न राजनीतिक दल राष्ट्रिय पार्टी हुुन खसेको ३ प्रतिशत मतको व्यवस्था अनुरुप नै युनियनको निर्वाचनमा पनि १० प्रतिशतको थ्रेसहोल्ड हटाई ३ प्रतिशतमा कायम गर्नुपर्ने प्रमुख मांग मञ्चको रहेको छ ।
साथै निजामति सेवा नियमावली २०५० को तेह्रौ संशोधनबाट लादिएको थ्रेसहोल्ड प्रणालीको प्रारम्भदेखि नै संविधान विपरित रहेको भन्दै मञ्चले विरोध गर्दैै मौलिक हकमा प्रतिबन्ध लगाउने गरी षडयन्त्रणपुर्वक, पुर्वाग्राही र भेदभावपुर्ण तरिकाले थपिएको थ्रेसहोल्ड प्रावधान खारेजको मांग गर्दै सर्वोच्च अदालतमा मुद्दा समेत विचारधिन रहेकोले निर्वाचन स्थगन मांग गर्दै आएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !