जनकपुरधाम, भदौ २१ गते । जिल्ला प्रशासन कार्यालयले धनुषाले पुनः एक हप्ता निषेधाज्ञा थपिएको छ ।
जिल्लाभरि कोरोना संक्रमणको जोखिम निरन्तर बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि भदौ २१ गते आइतबार राति १२ बजेपछि सकिन लागेपछि पुनः भदौ २८ गते राती १२ बजेसम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभरि निषेधाज्ञाको समयावधि थपिएको बताए ।
निषेधाज्ञा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूधडेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल व्यवसाय सञ्चालकले ग्राहकहरुको तापक्रम नाप्ने, २ मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क स्नानिटाइजरको प्रयोग गर्ने, नेपाल सरकारबाट जारी भएको जनस्वास्थ्य र सुरक्षा मापदण्ड लगायतका अन्य मापदण्डहरुको समेत पालना गरि अर्को सूचना नभएसम्मका लागि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।
सोको अनुगमन दैनिक रुपमा उद्योग वाणिज्य संघले गर्नेछ सोको विवरण दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने र अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण पसलहरु शनिबार पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत गरिएको बताइएको छ ।
त्यस्तै होटेल तथा रेस्टुरेन्टको हकमा पीसीआर नेगेटिभ भएका व्यक्ति मार्फत मात्र अनलाईन अर्डरका होम डेलेभरि तथा ग्राहक स्वयं आएर प्याकिङ्ग गरि लैजान पाउने र टेकअवे विधिलाई प्रयोग गरि सेवा सञ्चालन गर्न आग्रह गर्नुका साथै होटेलमा भेटघाट तथा जमघट हुनेगरि भीडभाड नगर्न निर्देशन समेत दिइएको छ ।
निषेधाज्ञा अवधिमा सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, जिमखाना, सिनेमा हल, पार्टीप्यालेस तथा सपिङ्ग मलहरु बन्द संचालन गरिनेछ छैन भने जिल्लाभरिको कुनैपनि स्थानमा राती ८ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुल नगर्न तथा १० वर्ष भन्दा मुनीका बालबालिका र ६० वर्ष भन्दा माथिका व्यक्तिलाई कुनैपनि कामले घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
सार्वजनिक निजि सवारी साधन अर्को सूचना नभएसम्मका लागि सञ्चालन बन्द रहनेछ भने मोटरसाइकल तथा सिटी रिक्साको हकमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर प्रणली अनुसार यातायात मापदण्ड पालना गरि बढिमा २ जना यात्रु मात्र राख्न निर्देशन दिइएको छ ।
प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । धनुषामा आईतबारसम्म १ हजार ७ सय ३७ जना संक्रमित भइसकेका छन् भने एक भारतीय सहित १३ जनाको मृत्यु समेत भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !