जनकपुरधाम, भदौ १४ गते । कोरोना संक्रमण जोखिमको दृष्टिगत गर्दै धनुषामा पुनः ७ दिन निषेधाज्ञा थप गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि भदौ १४ गते आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ २१ गतेसम्मका लागि थप गरिएको जानकारी दिएका छन ।
प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका सेवाहरु संचालनमा स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभरि निषेधाज्ञाको समयअवधि थपिएको बताए ।
लकडाउनको अवधिमा व्यापारीले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने छन् । व्यापार व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न प्रजिअ भट्टराईले स्पष्ट पारेका छन् ।
प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा भनी उल्लेख गरेको छ ।
यसका साथै होटल, जल, सिनेमा हल, सैलुन लगायतका पसल र भीडभाड हुने खालका सार्वजनिक कार्यक्रम सभा सम्मेलन नगर्न÷गराउन आग्रह गर्दै स्थानीय प्रशासनले आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !