जनकपुरधाम, साउन २६ गते । समुदायस्तरमा कोरोना संक्रमण बढदै गएपछि धनुषाको नगराईन नगरपालिकामा लकडाउन र मिथिला नगरपालिका सहित कार्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।
नगराइन नगरपालिकाले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण र समुदाय स्तरमा फैलिनबाट रोक्न नगरपालिकाले नगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो । सोमवार देखि नै लागू हुने गरी साउन ३२ गते सम्मको लकडाउन गरिएको छ ।
लकडाउन अवधिमा नगरपालिकाको कार्यालय, सम्पूर्ण वडाकार्यालय, बजार लगायत सम्पूर्ण संघसंस्था तथा कार्यालयहरु पुर्ण रुपले बन्द गर्ने निर्णय भएको नगरप्रमुख परमेश्वर यादवले जानकारी दिए । यस अवधिमा कुनै प्रकारको मेला, सभा, समेलन, भोजभतेर लगायतको काम हुने छैन ।
यस्तै मिथिला नगरपालिकाका कार्यालय र वडा कार्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण एवम् समुदायस्तरमा कोरोना फैलिने जोखिम कम गर्ने उद्देश्यका साथ साउन २७ गतेदेखि आगामी भदौ २ गतेसम्मको लागि कार्यपालिका र नगर भित्रका वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख हरिनारायण महतोले जानकारी दिएका छन ।
प्रदेश २ लगायत देशभर कोरोना महामारीको संक्रमण दर उच्च मात्रामा वृद्धि भइरहेको अवस्थाले गर्दा देशका विभिन्न क्षेत्रहरुमा लकडाउन र सटडाउनको अवस्था जारी रहेकोले यस्तो निर्णय गरिएको नगरप्रमुख महतोले बताए ।
तर नगरकार्यपालिकाका कर्मचारीहरुलाई आवश्यक परेको समयमा जुनसुकै बेला कार्यालयमा उपस्थित हुन नगरपालिकाले आग्रह गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !