जनकपुरधाम, साउन २४ गते । समुदायस्तरमा कोरोना संक्रमण बढदै गएपछि महोत्तरीको औरही नगरपालिकामा अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ ।
नगरकार्यपालिकाको बैठकबाट आइतबार राति १२ बजेदेखि लागू हुने गरि नगरपालिकाले अर्को सूचना जारी नगरेसम्मका लागि लकडाउन घोषण गरिएको हो । नगरपालिकाका कर्मचारी लगायत समुदायस्तरमा कोरोना संक्रमण फैलिएकोले लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्रका अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै व्यवसाय तथा नगरपालिका मातहतका कार्यालयहरु, बैंक तथा वित्तीय संस्था लगायत सबै हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यहोरा नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अति आवश्यक काम बाहेक नगरभित्र आवतजावत गर्न पूर्ण रुपमा बन्देज लगाइएको, अनुमति प्राप्त सवारीसाधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी चलाउन नपाइने गरि लकडाउन गरिएको नगरपालिकाले जनाएको छ । लकडाउन उल्लंघन गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गर्ने समेत नगरपालिकाले चेतावनी दिएका छन् ।
यस्तै महोत्तरीको सदरमुकाम रहेका जलेश्वर नगरपालिकामा एक साताका लागि पुनः निषेधाज्ञा थपिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र महोत्तरीको बैठकबाट समुदायस्तरमा कोरोना बढदै गएको र त्यसलाई रोक्न अपरिहार्य रहेको भन्दै भदौ १ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।
जलेश्वर नगरपालिकाको सम्पूर्ण क्षेत्र र महोत्तरी गाउँपालिकाको वडा नं. ३ र ५ मा निषेधाज्ञा जारी गरिएको कुरा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !