जनकपुरधाम, साउन २४ गते । ज्यानमारा अस्पतालको रुपमा परिचित जनकपुरधाम स्थित रामजानकी होस्पीटल प्रा.लि. राजनीतिक शक्ति र पैसाको बलमा संचालनमा रहेको पछिल्लो घटनाले प्रष्ट भएको छ ।
गैरकानूनी र मापदण्ड विपरित रहेका सो होस्पीटलमा संचालन भएदेखि करीब आधा दर्जनभन्दा बढी बिरामीको चिकित्सकको लापरवाहीले मृत्यु भइसकेको छ । तर ती सबै घटना होस्पीटल व्यवस्थापकले मृतक परिवारलाई लाखौ रुपैया दिएर घटना ढाकछोप गर्दै आएका छन ।
जसको पछिल्लो उदाहरण हो बिहीवार अबेर राति चिकित्सकको लापरवाहीले “ओ” पोजेटिभको सट्टा “बी” पोजिटिभ ग्रुपका ब्लड चढाउंदा मृत्यु भएकी सुत्केरी महिला महोत्तरीको गौशाला नगरपालिका ११ की गंगा देवी महतोको परिवारलाई गुण्डा लगाएर धाक धम्की पांच लाख रुपैया क्षतिपुर्ति दिएर घटना ढाकछोप गरेको छ ।
उम्किने अवस्था नदेखेपछि पिडीत परिवारलाई गुण्डा लगाएर धाकधम्की दिई पछि हटन दबाव दिए । पक्राउ परेका घटनाका जिम्मेवार आफ्ना चिकित्सक र होस्पटीललाई बदनामीबाट बचाउन अस्पताल व्यवस्थापक गुण्डा मार्फत धाकधम्की दिदैं दिनभरिको मस्कत पश्चात ५ लाख रुपैया क्षतिपुर्ति दिने भनी पिडीत परिवारलाई सहमति ल्याई मुद्दा नै कमजोर बनाए ।
पिडीत परिवारले भवितव्यमा ज्यान गएको भनी मुद्दा दायर गरेपछि प्रहरीले हिरासतमा रहेका चिकित्सकलाई छाडेर मुद्दा नै रफादफा गरेको छ । पीडित परिवारतर्फका राजेश महतोले अस्पतालमा आफूहरु असुक्षित महसुस गरेपछि सहमति गरेको बताए ।
संचारकर्मीसँग उनले भने ‘होस्पीटलले गुण्डा बोलाएर घटना मिलाउने पर्ने भन्दै शुरु मै धम्की दिने र तर्साउने काम गर्यो । हामी असुरक्षित थियौं । कसैले सुरक्षा दिएनन् । बाध्य भएर ५ लाख रुपैयाँमा हामी घटनालाई मिलायौं ।
बिहीबार राति सुत्केरीको मृत्यु हुँदा अस्पतालले शुक्रबार बिहानै आफ्ना गुण्डाहरु बोलाएर धम्की दिँदै शव उठाउन दबाव दिएको पीडित परिवारको गुनासो छ । फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु भएको होस्पीटल व्यवस्थापकर स्वयं चिकित्सकले पनि स्वीकारेको थियो ।
रामजानकी होस्पीटलको चरम लापरबाहीको घटना यो भने पहिलो होइन । पटक–पटक यस अस्पतालमा चरम लापरबाहीले बिरामीको मृत्यु हुने गरेको छ । जुन घटनाहरुलाई होस्पीटलले प्रहरी प्रशासनको सेटिङमा पैसा र राजनीतिक पावरको बलमा ढाकछोप गर्दै आएको छ ।
गत वर्ष असार ५ गतेका दिन बढी पैसा कमाउने चक्करमा समान्य बिरामीलाई अत्यधिक र कडा औषधि प्रयोग गर्दा धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरको मृत्यु भएको थिो । अस्पतालकै चरम लापरवाहीले मृत्यु भएको भनी पीडित परिवारले हंगामा पनि गरे । तर पछि होस्पीटलले प्रहरी प्रशासनकै मिलेमतो र राजनीतिक शक्तिको आडमा मृतक परिवारलाई ४ लाख रुपैयाँमा लिएर घटना ढाकछोप गरेको थियो ।
होस्पीटलको भवन नै गैरकानूनी
जनकपुरधाम वडा नं. ६ मा जानकी मन्दिरको फुलबारी जग्गामा संचालित सो रामजानकी होस्पीटलको भवन गैरकानूनी रुपमा निर्मित भएको र स्वास्थ्य मापदण्ड विपरित संचालनमा रहेको भन्ने कुरा विभिन्न संचार माध्यममा आइसकेको छ ।
होस्पीटल व्यवस्थापकले ६० हजार रुपैया मासिक दिने सहमतिमा जानकी मन्दिर व्यवस्थापक सँग मन्दिरको फुलबारीबाट १४ कट्ठा ३ धुर २ कनमा जग्गा लिजमा लई तात्कालिन पुनरावेदन अदालतको निषेधाज्ञा आदेश विपरित भवन बनाएका छन ।
भवन बनिरहेकै बेला स्थानीयवासीले मठ मन्दिरको निर्माण गर्न पाइदै मापदण्ड विपरित हो भनी विरोध जनाएका थिए । होस्पीटल निर्माणको शुरुवाती चरणमा संचालक गणेश साहले गुण्डा लगाएर स्थानीयको मुख बन्द गराएका थिए ।
अन्ततः स्थानीय शुशिल कर्णको अगुवाईमा युवाहरुले तात्कालिन पुनरावेदनमा अदालतमा उत्प्रेषण परमादेश तथा निषेधाज्ञाको मुद्दा हाले । अदालतले मुद्दाको सुनुवाई गर्दै मन्दिरको जग्गामा हस्पीटलको कुनैपनि निर्माण कार्य नगर्न÷गराउन भनी निषेधाज्ञा आदेश जारी गरेको थियो ।
अदालतको आदेशलाई धज्जीया उडाउंदै स्थानीय प्रशासनलाई आर्थिक प्रभावमा पारेर केही दिन पश्चात होस्पीटल भवनको निर्माण कार्य सम्पन्न गरेका थिए । पछि निषेधाज्ञाको सो मुद्दा जानकी मन्दिरका महन्थ, विभिन्न राजनीतिक दलको सहयोगमा न्यायधिशलाई आर्थिक प्रभावमा पारेर होस्पीटल व्यवस्थापकले मुद्दालाई सामसुम पारी संचालनमा ल्याएका थिए ।
बढी पैसा कमाउने चक्करमा हस्पीटल व्यवस्थापकले बढी शुल्क, सामान्य बिरामीलाई बढी औषधि दिने लगायतका कार्य गर्दै आएका छन । सो हस्पीटलले ल्याब, बेड संख्या र पुर्वाधार लगायतका मापदण्ड पुरा नगरेको भएपनि पैसाको बलमा टिकेका छन ।
जनकपुरधाममा श्रीरामजानकी हस्पीटल मात्र होइन यस्ता करीब दर्जनभर अस्पताल मापदण्ड विपरित संचालित छन । तर ती अस्पताल व्यवस्थापकहरुले पनि बिरामीसँग बढी पैसा लिई सम्बन्धित निकायलाई घुस दिई मुख बन्द गराएर संचालन गर्दै आएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !