वीरगञ्ज, साउन २२ गते । स्थानीय प्रशासनले बिरामीको उपचार नगरे कारवाही गर्ने चेतावनी दिएकै दिन पर्सामा निजी अस्पतालको लापरवाहीले उपचार आभावमा एक बिरामीको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन बिहीवार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरेपछि वीरगञ्ज ११ श्रीपुर का ६४ वर्षीय चलितर महतोको उपचार आभावमा मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या भएपछि बिहानै महतोलाई उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको तर भर्ना नलिएका कारण उपचार आभावमा महतोको मृत्यु भएको परिवारजनले बताएका छन ।
बुधबार राति दिसामा रगत देखिएको र श्वास लिन समेत गाह्रो भएपछि उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज लग्दा कोरोना लागेको छ भनी भर्ना लिन नमानेपछि परिवारजनले कोरोना संक्रमण नभएको पुष्टि भएको कागज देखाउँदा समेत भर्ना नलिएपछि उपचार आभावमा उनको मृत्यु भएको शम्भु महतोले जानकारी दिए ।
दुई दिनअघि नै हल्का ज्वरो र खोकी लाग्नुका साथै शरीरमा कमजोरी महशुस भएपछि उनलाई नेशनलमै उपचारका लागि लगिएको थियो । तर त्यतिखेर पीसीआर परीक्षण गराएर ल्याउनु भनी फर्काएको थियो । पीसीआर परिक्षण गराएर पनि उपचारका लागि भर्ना नगरेको महतोले बताए ।
घटना सम्बन्धमा अस्पतालको गेटमा खटिएका कर्मचारीले ‘एमडीले भनेपछि मात्रै भर्ना बताएका छन । तर नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले भने पीसीआर रिपोर्ट लिएर आएका बिरामीलाई उपचार नगरी फर्काइएको कुरामा कुनै सत्यता नभएको दाबी गरेका छन ।
अस्पताललाई बदनाम गर्न यस्तो आरोप लगाइएको उनको भनाई छ । नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दिन अन्सारीले भने आफूलाई यस विषयमा जानकारी नभएको बताएका छन् ।
स्थानीयले बिरामीलाई उपचार नगर्ने निजी अस्पताललाई कारवाहीको मांग गर्दै आक्रोशित छन । उनीहरुले आम जनताको स्वास्थ्य सँग खेलवाड गर्ने अस्पताललाई स्थानीय प्रशासनले कारवाही नगरे आन्दोलनमा जाने चेतावनी समेत दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !