जनकपुरधाम, साउन २१ गते । लामो समय पश्चात भारतको अयोध्या स्थित श्रीराम जन्ममूमिमा गरिएको राम मन्दिरको भूमिजनको खुशियाली जनकपुरधाममा भजन किर्तन र दिपावली गरी मनाइएको छ ।
चार सय ९२ वर्ष लामो समय पश्चात भारतीय अदालतको आदेशपछि अयोध्या स्थित श्रीराम जन्मभूमिमा भगवान रामको मन्दिरको निर्माणका लागि भूमिपूजन गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो भूमि पूजन गरेका हुन ।
भगवान श्रीरामको अर्धानगी जगतजननी माता सीताको ससुरालमा घर निर्माण भइरहेको आस्थाका साथ जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा बिहान र बेलुका भजन किर्तन तथा पूजापाठ गरिएको छ भने जानकी चौकमा जानकी युवा क्लब र राम मन्दिरमा श्री महावीर युवा कमिटीले दिप बालेर दिपावली मनाएका छन ।
स्थानीय संघ संस्था बाहेक जनकपुरधाम सहित सम्पूर्ण मिथिला क्षेत्रमा राम मन्दिर निर्माण भूमिपूजनको अवसरमा बेलुका आ आफ्नो घर, भवन र पसल अगाडि दिप बालेर दिपावली मनाएका छन ।

मोदीले दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा चाँदीले निर्मित पाँचवटा इँटा जगमा राखेर भूमि पूजा गरेका हुन् । सो मन्दिर निर्माण जनकपुरबाट लगिएका ५ वटा चाँदीको ईट्टा र माटो समेत लगाइएको छ । भूमिपूजनमा सीताको माइतबाट राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सहभागी भएका छन ।
भूमिपूजनको अवसरमा प्रधानमन्त्री मोदीले राम मन्दिरको शिलान्यास गर्दै ‘भगवान रामसँग नेपालको आत्मीय सम्बन्ध’ रहेको बताए । उनले भने यो सम्बन्ध जगतजननी माता सँग जानकीसँग जोडिएको छ ।

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेल लगायत उच्च अधिकारीहरु सहभागी थिए ।
भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिने अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले इस्लाम धर्मावलम्बीको बाबरी मस्जिद भत्काएको थियो । बाबरी मस्जिद राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो ।
सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनहरुबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको पनि हुने फैसला गरेको थियो । अदालतको फैसलापछि राममन्दिर निर्माणका निर्णय हुन लागेको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !