राजविराज, साउन २१ गते । सप्तरीमा कोरोना भाइरस लक्षण देखिएका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।
मलेसियाबाट फर्केर होम क्वारेन्टिनमा बसेका एक र उपचारमा रहेका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपनी गाउँपालिका ५ का एक र डाक्नेश्वरी नगरपालिका तथा राजगढ गाउँपालिकाका १/१ जना वृद्ध रहेको छ ।
गत डेढ् महिनाअघि मलेसियाबाट आएर क्वारेन्टाइन बसेका रुपनी गढियाका ४५ वर्षीय पुरुषको मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव हुन नसक्दा तर्फ उपचारका लागि धरान लग्ने क्रममा बाटोमै मृतयु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।
त्यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।
तिनीहरुको पनि उपचारकै क्रममा मृत्यु भएको हो । मृतकहरुको स्वाब संकलनका लागि टोली खटिइसकेको जानकारी अस्पताल श्रोतले दिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !