जनकपुरधाम, साउन २० गते । प्रदेश २ का विभिन्न ६ जिल्ला सहित सर्लाहीमा समेत निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा हुने सर्लाही प्रदेशका ७ औं जिल्ला पर्न गएका हुन ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसअघि प्रदेश २ को बारा, पर्सा र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी भएको समय सर्लाहीमा समेत भोली विहान ६ बजेदेखि जिल्लाभरि लागु हुने गरि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकारको प्रयोग गरी कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम साउन २१ गते विहान ६ बजेदेखि साउन २७ गते राति १२ बजे सम्म लागुहुनेगरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
यस निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ । यस अवधिमा अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दुध बोक्ने र खाद्यान वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अहिले सम्म प्रदेश २ को ८ वटा जिल्ला मध्ये ३ वटा जिल्लाभर निषेधाज्ञा लगाइएको छ भने अन्य ४ जिल्लामा सदरमुकामभरि मात्र निषेधाज्ञा गरिएको हो । सदरमुकामस्तरमा निषेधाज्ञा हुनेमा धनुषा, बारा, रौतहट र महोत्तरी रहेको छ । धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर, बाराको कलैया र रौतहटको गौरमा निषेधाज्ञा जारी छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !