जनकपुरधाम, साउन १६ गते । भारतको अयोध्या स्थित श्रीराम जन्मभूमिमा हुने राम मन्दिरको शिलान्यास कार्यक्रमका दिन दिपावली मनाउन जनकपुरधाम स्थित जानकी मन्दिरका महन्थ रामतपेश्पर दास वैष्णवले आग्रह गरेका छन ।
शुक्रवार एक पत्रकार सम्मेलन आयोजन गरी महन्थ दासले कोरोना भाइरस महामारीको कारण निमन्त्रण आएपनि सहभागी हुन सक्दैनौं । जानकी मन्दिरमै पूजापाठ गरी हामी खुशी मनाउनेछौं भने ।
महन्थ दासले अयोध्या कहाँ छ भन्ने वर्तमान राजनीतिक विवादमा नपरी पौराणिक देखि रहेको मिथिला र अवधबीचको सांस्कृतिक सम्बन्धको रुपमा लिएर माता सीताको ससुरालमा उनकै घर बनिरहेको बुझेर दिपावली मनाउने उनले आग्रह गरे ।
आगामी ५ अगस्त साउन २१ का दिन अयोध्यामा भगवान श्रीरामको मन्दिरको शिलान्यास हुन गइरहेको कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा आएपनि कोरोना महामारी र भारतको विभिन्न स्थानमा जारी लकडाउनका कारण जान नसक्ने अवस्था रहेकोले अवस्था समान्य भएपछि जाने बताए ।
महन्थ दासले सो मन्दिर शिलान्यासका सहभागीताका लागि जानकी मन्दिरबाट बाजागाजा सहित नागरिक समाजको तर्फबाट कांग्रेस उपसभापति विमलेन्द्रको अगुवाईमा साधुसन्त, पत्रकार र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा जाने कार्यक्रम थियो तर महामारीले गर्दा रोक्नु परेको बताए ।
जगत जननी माता सीताको अयोध्यामा ससुराल भएको कारण महामारीको अवस्था समान्य भएपछि श्रीराम मन्दिरमा जनकपुरधामबाट पनि ईटा थप्ने कार्यक्रम रहेको छ । दर्जनौ गाडीका साथ हजारौको संख्या अयोध्या गएर उनीहरुको खुशीमा सहभागी हुने समेत महन्थ दासले बताए ।
साथै उनले अयोध्या स्थित सरयुग नदीमा निर्माण हुन गइरहेको भगवान श्रीराम संगै माता सीताको मूर्ति राख्न उतरप्रदेश सरकारसँग पहल भइरहेको जानकारी समेत दिए । उनले माता सीता बिना भगवान श्रीराम अधुरा छन त्यही भएर जहाँ जहाँ भगवान रामको मूर्ति छ त्यहाँ त्यहाँ माता सीताको पनि मूर्ति राख्ने सम्बन्धित निकायसँग पहल भइरहेको समेत भने ।
पत्रकारको जिज्ञासामा महन्थ दासले भने विरगञ्गको ठोरीमा अयोध्या छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक मुद्दा हो, जसको साधु समाजले विरोध गर्दै आएका छन । अयोध्या कहाँ छ भन्ने विवादमा नपरी हामी नेपाली नागरिकले विभिन्न धार्मिक ग्रन्थ र ऐतिहासिकताका प्रमाणको आधारमा अवध र मिथिला बीचको सनातन सम्बन्धको रुपमा बुझ्नुपर्ने महन्थ दासले विचार व्यक्त गरे ।
नेपाल र भारतबीचको सम्बन्ध मिथिला र अवधकै कारण पौराणिक देखि रहेको भन्दै उनले कसैले चाहँदैमा सम्बन्ध टुटदैन । अयोध्या रामको जन्मभूमि र मिथिला जानकीको जन्म भूमिरहेको पौराणिक मान्यतालाई कसैले अन्त्य गर्न नसक्ने उनले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !