काठमाडौ, साउन १५ गते । लामो अवधिको लकडाउनले उद्योग, व्यवसाय र रोजगार धारासायी भएको अवस्थामा सरकारले कोरोना भाइरस (कोभिड १९) को उपचारमा दैनिक १५ हजार रुपैयासम्म लिने निर्णय गरेको छ ।
गत केही दिनदेखि समुदायस्तर ह्वातै बढदै गएको कोरोना संक्रमणको उपचारमा सरकारी अस्पताल मात्रै नसक्ने भएकाले निजी अस्पताललाई समेत दैनिक १५ हजार रुपैयासम्म लिएर उपचार गर्न सरकारले इजाजत दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जटिल अवस्थाका बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार रुपैयाँसम्म लिन पाउने निर्णय गरिएको जानकारी दिएको भन्ने कुरा अनलाईन खबर समाचारमा भनिएको छ ।
कोरोना संक्रमितको उपचारका लागि सरकारले लेबल १, २ र ३ गरी तीन थरी अस्पताल तोकेको छ । यी बाहेक अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा उक्त अस्पतालको समेत सहमति लिई उपचार गर्न पाउने डा. गौतमले बताए ।
यसरी उपचार गर्दा संक्रमित सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम जटिल खालको भए ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाको भए १५ हजार रुपैयाँ लिन पाउने उनले जानकारी दिए ।
यसअघि निजी अस्पतालहरुमा ५५ सय रुपैया तिरेर कोरोना परीक्षण गराउन पाउने कुराको आलोचना भइरहेकै बेला सरकारको यस्तो निर्णय आएको हो । सर्वसाधारणले लामो समयसम्म लकडाउनको मार खेप्नु परेको कारण खान लाउन नपाई रहेको अवस्थामा कोरोना उपचारका लागि दैनिक १५ हजारसम्म रुपैया कहाँबाट ल्याउने भनी आलोचना गरिरहेका छन ।
विश्वका सबै राष्ट्रले आ आफ्ना जनतालाई बचाउन निशुल्क उपचार र खोप बनाउनमा जुटेका छन तर नेपाल सरकार त्यसबाट पन्छिन जनताबाटै उपचार खर्च तिराउनमा जुटेको जनकपुरको एक स्थानीयले भने ।
अब निजी अस्पतालबाट कोरोना परीक्षण गराएको खण्डमा बिरामीलाई १० प्रतिशत सेवा शुल्क पनि तिर्नुपर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार निजी अस्पतालले पीसीअर विधिबाट कोरोना परीक्षण गर्दा सरकारले तोकेको ५५ सय रुपैयाँमा थप १० प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछ । अब सेवा शुल्क सहित ६ हजार ५० रुपैयाँ पीसीआर परीक्षणमा तिर्नुपर्नेछ ।
यसरी तोकिएको निजी अस्पतालले संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पाएको प्रयोगशालामा नै परीक्षण गराउनुपर्नेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !