जनकपुरधाम, साउन १४ गते । स्थानीय प्रशासनको लापरवाहीका कारण महोत्तरीको मडैमा कोरोना संक्रमित उपचारका लागि आइसोलेशनको सट्टा बाहिर हिलडुल गरिरहेका आरोप लगाइएको छ ।
पछिल्लो हप्ता कोरोना संक्रमणकै कारण मृत्यु भएका महोत्तरी गाउँपालिका ३ डाम्ही मडैका अवकाश प्राप्त ईन्जिनीयर शशिभुषण झाका आफन्त सहित व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भइसकेपनि तिनीहरुलाई आइसोलेशनमा राखिएको छैन ।
शशिभुषणको मृत्यु पश्चात संदिग्ध करीब ४४ जनाको स्वाब संकलन गरिएकोमा पांच दिनअघि आएको परिक्षण रिपोर्ट अनुसार उनका आफन्तहरु मध्ये ७ जनामा कोरोना पोजेटिभ आएको थियो । स्थानीय प्रशासनले तिनीहरुलाई उपचारका लागि आइसोलेशनसम्म नलग्दा सो क्षेत्र त्रसित बनेको एक स्थानीयले बताए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले तिनीहरुलाई होम आइसोलोशनमा राखिएको बताए । उनले सुरक्षा समितिको निर्णय अनुसार मृतकका आमा बुवा सहित संक्रमित व्यक्तिलाई होम आइसोलेशनमा राखिएको बताए । प्रजिअ कटुवालले होम आइसोलेशनमा रहेको दाबी गरेपनि स्थानीयले तिनीहरु घर बाहिर हिलडुल गरिरहेको बताएका छन ।
स्थानीयले संक्रमित यसरी खुलेआम हिलडुल र भेटघाट गरेको खण्डमा समुदाय स्तरमा संक्रमणको खतरा झन बढने भन्दै सम्बन्धित निकायले ध्यान पुरयाउन आग्रह गरेका छन ।
यसैगरी शशीभूषणको शव व्यवस्थापनमा खटेका १० जना नेपाली सेनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको प्रकौलीस्थित रणभीम गणका सेनामा संक्रमण पुष्टि भएको हो ।
गणका दशजना नेपाली सेनामा संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएका छन् । ‘शव व्यवस्थापनमा खटिएका २० जना नेपाली सेनाको स्वाब परीक्षण गर्न लगाएका थियौं, १० जनामा संक्रमण पुष्टि भएको छ,’ प्रमुख जिल्ला अधिकारी कटुवालले भने ।
संक्रमित सबैजनालाई बर्दिवासको किसान नगरस्थित नेपाली सेनाको क्वारेन्टाइनमा पठाइएको उनले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !