जनकपुरधाम, साउन १४ गते । कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र धनुषाले कामै नभएको योजनाको फाइल भुक्तानीका लागि कोष तथा नियन्त्रण कार्यालय (कोलिनिका) पठाएको रहस्य बाहिरिएको छ ।
कोलनिकाका अनुसार डीप टुयूबेल जडान सम्बन्धी शिर्षकमा केन्द्रले कामै नभएका योजनाको भुक्तानीका लागि पठाएको र अधुरा काम भएका योजनाहरुको भुक्तानी पुरा गराएको हो ।
प्राप्त जानकारी अनुसार चितवनको माडी नगरपालिका–१ देउजर र राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनीयामा निर्माणै नभएका डीप ट्यूबबेलको निर्माण कार्यसम्पन्न भएको जनाउँदै केन्द्रका निमित प्रमुख रत्नकुमार पुर्वेले कोलनिकामा पठाएको थियो । तर कोलनिकाले फाइल रोकेर भुक्तानी रोकेको छ ।
कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र धनुषाले डीप ट्यूबबेल जल प्रबन्ध समितिका उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम महतो थारुको खातामा २१ लाख ८६ हजार ८२६ रुपैयाँ भुक्तानी गर्न माग गर्दै मूल्यांकन सहितको फाइल असार ३० गते यहाँ पठाएको कोलेनिका धनुषाका प्रमुख कोष नियन्त्रक डा. वीरेन्द्रकुमार मिश्रले जानकारी दिएका छन ।
उनले भने ‘डीप ट्यूबबेल निर्माण नै नभएको जानकारी कर्मचारी स्रोतबाट थाहा पाएपछि भुक्तानी आदेश रोक्यौं । डीप ट्यूबबेल जडान नभएको यान्त्रिकीकरण कार्यालयका निमित्त प्रमुख पूर्वे पनि स्वीकार गरेका छन । पुर्वेले भने ‘उपभोक्ता समितिले डीप ट्यूबबेल जडान गर्ने प्रयास २ पटक गर्दा पनि असफल भएको हो । भुक्तानी आदेश ‘आफूले जानाजान नभई धोकाले पुगेको हो ।
त्यस्तै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनीयाको परिसरमा जडान गर्ने भनिएको डीप ट्यूबबेल निर्माण कार्य सम्पन्न नहुँदै पूर्वेले भुक्तानीका लागि फाइल पठाएका छन । १६ लाख १ हजार ८२८ रुपैयाँ भुक्तानीका लागि असार ३० गते पठाइएको फाइल रोकेर भुक्तानी गरेको छैन ।
अधुरा कामको पनि पुरा भुक्तानी

केन्द्र सर्लाहीको ब्रह्मपुरी–७ मोहनगञ्जस्थित डीप बोरिङसहित विभिन्न निर्माणको काम साउन १० गतेसम्म पनि पूरा नभएको अवस्थामा असार २२ गतेसम्म नै पटक पटक गरी पुरा भुक्तानी गराएको छ ।
डीप ट्यूबबेल प्रबन्ध समितिका अध्यक्ष मोहिचन महतोलाई फागुन ३० गते २८ लाख ४७ हजार ४३ रुपैयाँ, असार १० गते १८ लाख ८३ हजार १ सय ५५ रुपैयाँ, असार २२ गते ५ लाख ६ हजार ७७९ रुपैयाँ सहितको रकम भुक्तानी भइसकेको छ तर निर्माण कार्यको अधिकांश काम बांकी नै रहेको छ ।
साउन १० गतेसम्म पनि काम सम्पन्न हुन नसकेको स्वीकार गर्दै निमित प्रमुख पुर्वेले भने नाला निर्माण, विद्युतिकरण र टान्फर्मर जडानको काम काम बांकी रहेपनि चाँडै सम्पन्न गरिनेछ ।
निर्माण काम अधुरो भएपनि निर्माण कार्य सम्पन्न भइसकेको भनी भुक्तानी आदेशका लागि असार २२ गतेभित्र नै सबै फाइल आएकाले नियमित भुक्तानीका क्रममा ती रकमको पनि भुक्तानी गर्नु परेको बताए । कोलनिकाले पुरा भुक्तानी बताउंदै आएकोमा यान्त्रिकीकरण कार्यालयका प्रमुख पूर्वे भने सर्लाहीका योजनाको जति काम भएको छ, त्यति मात्रै मूल्यांकन गरेर भुक्तानी गराइएको दाबी गरेका छन ।
कार्यालयका कर्मचारीलाई योजना दिलाइयो
यान्त्रिकरण कार्यालयले आफ्नै कार्यालयका एक कर्मचारीलाई धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा डीप ट्यूबबेल जडान गर्न कृषि डीप ट्यूबबेल जडान प्रबन्ध समिति अध्यक्ष बनाएर भुक्तानी गराएका छन ।
सो कार्यालयले कर्मचारी पुरन महतो कोइरीको अध्यक्षतामा कृषि डीप ट्यूबबेल जडान प्रबन्ध समिति बनाई ६६ लाख १६ हजार ८८२ रुपैयाँ भुक्तानी गराएको हो । कानूनतः नेपाल सरकारको सेवा सुविधा लिने कुनैपनि राष्टसेवक कर्मचारीले विकास निर्माण सम्बन्धी उपभोक्ता वा अन्य समितिको अध्यक्ष बन्न पाउने छैन ।
तर निमित प्रमुख पुर्वे आफ्नै कार्यालयमा विगत २ वर्षदेखि करारमा काम गर्दै आएका तथा मासिक ज्याला बुझिरहेका कर्मचारी पुरनलाई अध्यक्ष बनाएर अवैधानिक तरिकाले लाखौ रकम भुक्तानी गराएका हुन् । पुर्वेले भने विकास सबैको आवश्यकता हो पुरन त्यहाँको स्थायी वासिन्दा भएको कारण भुक्तानी गराइएको हो ।
सो कार्यालयले तराईका २१ वटा जिल्लामा सिँचाइका लागि पूर्वाधार निर्माणको काम गर्ने जिम्मेवारी पाएका हुन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !