जनकपुरधाम, साउन १० गते । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश २ सरकारले मात्र ४६.९५ प्रतिशत बजेट गर्न सकेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका ६ वटा मन्त्रालयको चालु र पूँजीगत गरी कुल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार मध्ये १८ अर्ब २ करोड ३० लाख ५० हजार रुपैयाँ मात्र ४६.९५ प्रतिशत खर्च गरेको हो ।
गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा २७ प्रतिशत मात्रै खर्च हुन सकेकोमा आर्थिक वर्षको अन्तिम महिना असार मसान्तमा थप १९ प्रतिशत रकम खर्च भएको बताइएको छ । असार ३१ गते मात्रै ३ हजारभन्दा बढी चेक काटिएको लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोज कुमार दासले जानकारी दिए ।
बढीजसो चेक भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको रहेको उनले बताए । सबैभन्दा बढी बजेट धनुषा जिल्लाका लागि छुट्याइएकोमा सबैभन्दा कम धनुषामा खर्च भएको हो ।
प्रदेश लेखा नियन्त्रकको कार्यालय अनुसार धनुषा जिल्लामा २७.९ प्रतिशत मात्रै खर्च हुन सकेको छ । धनुषा जिल्लाका लागि प्रदेश सरकारले चालु तर्फ १० अर्ब ४८ करोड रबकम छुट्याएकोमा ३ अर्ब २८ करोड मात्रै खर्च भएको छ । त्यस्तै पूँजीगत तर्फ ११ अर्ब ५४ करोड छुट्याइएकोमा २ अर्ब ८७ करोड मात्रै खर्च हुन सकेको हो । धनुषा जिल्लाका लागि छुट्याइएको बजेट मध्ये कुल ६ अर्ब १४ करोड मात्रै खर्च भएको छ ।
सबैभन्दा कम बजेट छुटयाइएको महोत्तरी जिल्लामा बढी खर्च भएको छ । महोत्तरी जिल्लाका लागि पूँजीगत तर्फ छुट्याइएको ६९ करोड ९१ लाख बजेट मध्ये ४५ करोड ८७ लाख खर्च भएको छ । यस हिसाबले महोत्तरी जिल्लामा प्रदेश सरकारले उपलब्ध गराएको बजेटको ७५.२ प्रतिशत खर्च भएको हो ।
त्यस्तै सिरहामा ६२.६९ प्रतिशत बजेट खर्च भएको देखिएको छ । सिरहाका लागि छुट्याइएको १ अर्ब ४८ करोड बजेटमध्ये १ अर्ब ११ करोड बजेट खर्च भएको छ । सप्तरीमा कुल बजेट १ अर्ब १९ करोडको ६७.७५ प्रतिशत अर्थात ७३ करोड ३४ लाख, सर्लाही जिल्लामा कुल बजेट ९७ करोड ८४ लाखको ४२ करोड ४३ लाख अर्थात ६८.४७ प्रतिशत खर्च भएको छ ।
रौतहट जिल्लाका लागि पूँजीगत तर्फ कुल १ अर्ब ४० करोड बजेट उपलब्ध गराइएको थियो । समध्ये १ अर्ब ४ करोड अर्थात ७१ प्रतिशत खर्च भएको पाइएको छ । बारामा कुल बजेट ७७ करोड ३५ लाख रहेकोमा ३९ करोड ६६ लाख अर्थात ६१.६८ प्रतिशत खर्च भएको छ । पर्सा जिल्लाका लागि पूँजीगत तर्फ १ अर्ब ९९ करोड बजेट छुट्याइएकोमा १ अर्ब २० करोड अर्थात ५९.४९ प्रतिशत रकम खर्च भएको हो ।
यसअघि आर्थिक वर्ष २०७५/७६ मा ५०.७६ प्रतिशत बजेट खर्च भएको थियो । गत आर्थिक वर्षमा ४ प्रतिशतले घटेर मात्रै खर्च भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !