अञ्जली चौधरी/ जनकपुरधाम, साउन १० गते । प्रत्येक वर्ष झै यस वर्षपनि जनकपुरधाम सहित मिथिलाञ्चल क्षेत्रमा झुलनोत्सव पर्व शुरु भएको छ ।
साउन शुक्ल तृतिया तिथिबाट शुरु भई १५ दिनसम्म मनाइने झुलनोत्सव पर्व जनकपुरधामको जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरहरुमा बिहीवारदेखि शुरु भएको हो ।
भगवान श्रीरामजानकीलाई सिंहासन सहित झुला (पिङ) मा झुलाउंदै भजनकिर्तन सहित जनकपुरधाम स्थित मठ मन्दिरहरुमा प्रत्येक दिन सांझ आयोजना हुने झुलनोत्सव पूर्णिमासम्म प्रत्येक रातिसम्म जारी रहनेछ ।
धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिर, राम मन्दिर, बिहारकुण्ड, अग्निकुण्ड, महोत्तरीको मटिहानी स्थित लक्ष्मीनारायण मन्दिर लगायत सिरहा, सर्लाही र भारत बिहार सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका सम्पूर्ण मठ मन्दिरमा धुमधामका साथ झुलनोत्वसव पर्व मनाइदै आएको छ ।

एकातर्फ राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाइने गरिन्छ । रत्नसागर मन्दिरको झुला नाच सबैभन्दी बढी प्रसिद्ध रहेको स्थानीयवासीहरुको कथन छ । झुला र नाच हेर्नका लागि मन्दिरमा भक्तजनहरुको साँझ पर्ने बित्तिकै भीड़ लाग्ने गर्दछ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने गरिन्छ ।
सन् १७३० मा जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास वैष्णवको कार्यकालदेखि नै झुला महोत्सवको आरम्भ भएको मानिदै आएको छ । जानकी मन्दिरबाट शुरु भएको झुलनोत्सव जनकपुरधामस्थित मठमन्दिरमा मात्र नभई मिथिलाञ्चल क्षेत्रमा सम्पूर्ण मठ मन्दिरमा झुलनोत्सव मनाइदै आएको हो ।
यस झुल्नोत्सवमा युवतीहरु झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फुलपाती पञ्चामृत र नैवेध बाँड्ने परम्परा छ । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा छ ।
जनकपुर एवम् मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुला उत्सव मनाउने परम्परा रहेपनि जानकी मन्दिर एवम् राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु रहेको हुन्छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ ।
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार झुलनोत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको हो । त्रेतायुगमा भगवान राम र सीता सिंहासनमा बसेर झुलेको जनविश्वास अनुसार पौराणिक कालदेखि नै झुलनोत्सव मनाइदै आएको दासको भनाई छ ।
उनले भने जनश्रुति अनुसार सीताको माइतीमा दाइजोको रुपमा प्राप्त मणिहरु महलमा राख्ने ठाउँ नहुँदा बाहिर राख्दा पहाड नै निर्माण भएको थियो । त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा जनकपुरस्थित रंगभूमि मैदानमा मणिपर्वत मनाउने परम्परा अझै कायम छ । मणिपर्वत झुला सकिए साँझबाट पुर्णिमासम्म झुलनोत्सव मनाउने गरिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !