जनकपुरधाम, असार ९ गते । कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउन समाप्त भएपछि धनुषा जिल्ला अदालतले कामहरु सूचारु गर्ने निर्णय गरेको छ ।
सरकारले कोरोना भाईरसको विश्वव्यापी महामारीलाई मध्यनजर गर्दै गत चैत ९ गतेदेखि बन्दाबन्दीको सूचना प्रकाशन गरेपछि सो अवधिमा केही सिमित कार्यहरु मात्र सम्पादन हुँदै आईरहेको थियो ।
तर सरकारले साउन ७ गतेदेखि लकडाउन समाप्त भएको घोषणा गरेपछि धनुषा जिल्ला अदालतले आफ्ना केही कार्यहरु साउन ११ गतेदेखि पूर्ववत रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
अदालतले प्रतिउत्तरपत्र, फिरादपत्र, लिखित जवाफ लगायतका निवेदनहरुको दर्ता एवं मुद्दामा म्याद, तारेख थाम्ने थमाउने सम्बन्धी कार्यहरु सूचारु गर्ने भएको छ । सेवा प्रवाह गर्दा अदालतको कार्यबोझ तथा महामारीको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै साउन ११ गतेदेखि फिरादपत्र दर्ता गर्न चाहने सेवाग्राहीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित शाखामा पेश गरिसक्नुपर्ने जनाएको छ ।
अदालतमा हुनसक्ने भिडभाडको अबस्था र फरक मुद्दा व्यवस्थापन समेतको कार्यसम्पादन गर्नुपर्ने कारण तत्काल दैनिक १५ वटा मात्र फिरादपत्र दर्ता गर्ने समेत निर्णय गरेको हो ।
अदालत हाताभित्र प्रवेश गर्ने सेवाग्राहीलाई निर्धारित सामाजिक दूरी कायम गरि अनिवार्य रुपमा मास्क लगाएर मात्र प्रवेश गर्न आग्रह गरिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !