जनकपुरधाम, असार २९ गते । प्रदेश २ सरकारले सप्तरीका करीब ४ हजार ८ सय १ किसानको लकडाउन अवधिभरको ऋण ब्याज तिरिदिएको छ ।
सोमबार राजविराजमा आयोजित एक कार्यक्रमा बीच प्रदेशका भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले ब्याज वापत ३ करोड, ३ लाख, ५५ हजार ९ सय ६३ रुपैयाँ ६७ पैसा बराबरको चेक सम्बन्धित वित्तिय तथा सहकारी संस्थाहरुलाई चेक हस्तान्तरण गरेका छन ।
विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका प्रदेशका किसानहरुको लकडाउन अवधिभरको ब्याज प्रदेश सरकारले तिर्ने घोषणा अनुरुप सोमवार सप्तरी जिल्लाका किसानहरुको ऋण ब्याज भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तिरेको हो । प्रदेशका ८ वटै जिल्लाका किसानहरुको कृषि ऋणको ब्याज प्रदेश सरकारले तिर्ने हो ।
मन्त्री साहले कोभिड–१९ महामारी रोकथामका लागि जारी लकडाउनका कारण मार्कामा परेका ५ लाखसम्म ऋण लिएका किसानहरुको ब्याज प्रदेश सरकारले अहिले तिरिएको छ भने ५ लाखभन्दा बढी रकम ऋण लिएकाहरुको ब्याज अर्को चरणमा तिर्ने बताए ।
सप्तरीमा जिल्लामा कुल ६ हजार ५ सय ७२ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको कषि ज्ञान केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ४ हजार ८ सय १ जना कृषकको चार महिनाको ब्याज पहिलो चरणमा तिरिएको हो । ती कृषकहरुले विभिन्न ५० वटा बैंक, वित्तिय संस्था र सहकारी संस्थाबाट कृषि ऋण लिएका थिए ।
यसैगरी लकडाउनका कारण कृषि बालीनाली क्षति भएकोमा पुर्नस्थापनातर्फ १ सय ४१ जना कृषकलाई २३ लाख २१ हजार २ सय ६९ रुपैयाँ र पशुपक्षीतर्फ क्षति भएका १ सय ६६ कृषकहरुलाई ९७ लाख ६० हजार ३ सय ४० रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको बताए । ५ लाख रुपैयाँभन्दा बढीको कृषि ऋण लिएका कृषकहरुको हकमा आगामी आर्थिक वर्षमा ब्याज व्यवस्थापन गरिने मन्त्रालयको तयारी रहेको मन्त्री साहले बताए ।
प्रदेशका ८ वटै जिल्लाका करीब ८० हजार कृषकले कृषि ब्याज तिरिदिनका लागि आवेदन दिएका हुन । प्रदेशभरिमा कृषकहरुले विभिन्न बैंक र वित्तिय संस्थाबाट ८० अर्बभन्दा बढी ऋण लिएको बुझिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !