जनकपुरधाम, असार २५ गते । प्रदेश नम्बर २ का सांसदहरुले प्रदेश पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधिलाई लत्याई मापदण्ड र सम्झौता विपरित काम गर्दै आएको पाइएको छ ।
मापदण्ड र सम्झौता अनुसार काम गराउन प्रोत्साहन गर्नुको साटो सांसदहरुले भवन निर्माणमा ५० वर्ष पुरानो ईटाको प्रयोग, आफ्नै घर अगाडिको सडक निर्माण गर्दा अरुको जग्गा मिच्ने र मानव वस्ती नै नभएको ठाउँमा बाटो बनाउने जस्ता मापदण्ड विपरित र सम्झौता विपरित काम धनुषा र महोत्तरीमा गरिएको देखिएको छ ।
नियम विपरित त्रुटिपूर्ण ती काम गराउन भौतिक पुर्वाधार विकास कार्यालयका प्राविधिकले कमीशन लिने गरेको सांसदहरुको श्रोतको दाबी छ । श्रोतका अनुसार सांसदको योजनामा प्राविधिकले कमिशन नलिई मूल्याङ्कन र भुक्तानी नै दिदैनन् ।
नेकपाका प्रत्यक्ष निर्वाचित प्रदेश सांसद भरत साहले ९० लाख रुपैयाको लागतमा महोत्तरीको उतरी क्षेत्र गौशालामा निर्माण गरिरहेको बहुउदेशीय भवनमा ५० वर्ष पुरानो गुणस्तरहीन इँटाको प्रयोग गरिरहेको पाइएको छ ।
सम्झौता विपरित भत्काइएको घरको पुरानो कमसल इँटा सफा गरी जगैदेखि लगाएपछि स्थानीयले बिरोध गरेपनि सम्बन्धित निकायले कुनै चासो नलिएको आरोप लगाइएको छ ।
स्थानीय कुमरकान्त झाले भने प्रदेश सांसद भरत साहको संसदीय विकास योजनाबाट निर्माण भइरहेको बहुउद्देश्य भवनमा मापदण्ड र सम्झौता विपरित ५० वर्ष पुरानो ईटा प्रयोग भइरहेको बारे प्रमुख जिल्ला अधिकारीलाई लिखित र मौखिक जानकारी दिएपनि हालसम्म कारवाही नगरी मौन बसेको छ ।
सो भवनमा पुरानो ईटा प्रयोग भइरहेको स्वीकार गर्दै सांसद साहले भने नयाँभन्दा बलियो पुरानो ईटा हुन्छ त्यही भएर प्रयोग गरिएको हो तर आफूले ती पुरानो ईटाको मूलायंकन नगर्न प्राविधिकलाई भनिसकेको छु । श्रोतका अनुसार कमीशनको खेलमा प्राविधिक टीमले पुरानो ईटालाई पनि त्यसमा जोडेर बिल भरपाई बनाई मूल्यांकनमा जुटेको छ ।
त्यस्तै विवादै विवादकाबीच नेपाली कांग्रेको समानुपातिक प्रदेशसभा सदस्य सरस्वती चौधरीले आफ्नै पार्टीका पुर्व सांसद चन्द्रमोहन यादवको जग्गा मिचेर जनकपुरधामको मुजेलियामा आफ्नै घर अगाडि २५ लाख रुपैयाँको लागतमा पीसीसी ढलान गरिरहेको छ ।
मापदण्ड अनुसार सडकको चौडाई नपुगेकै अवस्थामा सांसद चौधरीले पूर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र समेत रहेका पूर्व सांसद यादवको जग्गा मिचेर निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकमबाट सडकमा ढलान गर्न लागेकी छिन सडक बनाएकी हुन् । आफ्नो जग्गा मिचिएपछि पुर्व सांसद यादवले होहल्ला गरेपछि सडक ढलानका लागि मापदण्ड नै पुरा नभएको कुरा बाहिरियो ।
सांसद चौधरीले जग्गा मिचिएको स्वीकार गर्दै भनिन मापदण्ड अनुसार केही जग्गा कम थियो तर कमी भएका जग्गा आफ्नै पार्टीका पुर्व सांसदबाट लिएपछि उनले अनावश्यक विवाद खडा गर्नुभयो ।

पुर्व सांसद यादवको जग्गा मिचिएपछि पनि मापदण्ड पुरा गर्न सकेको छैन तर प्राविधिकलाई कमीशन दिई कागजी आधारमा मापदण्ड पुरा गरिएको श्रोतले जनाएको छ । प्राविधिकलाई मिलाएर कागजमा उपभोक्ता समिति गठन गरेर सो ढलान कार्य नवीन यादवको ठेक्कामा भइरहेको छ ।
प्राविधिकले कमीशन लिइरहेको कुरालाई भौतिक पुर्वाधार कार्यालय जनकपुरका प्रमुख श्यामसुन्दर मिश्रले ठाडै अस्वीकार गर्दै भने हामीले सबै उपभोक्ता समितिलाई कसैले कमीशन मांगि रहेको छ वा मूल्यांकन र भुक्तानीको काम रोकेको छ भने जानकारी गराए भने कारवाही गर्नेछु ।
प्रदेश पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधि नियमावलीमा प्रदेश सभा सदस्यले मंसिरमा योजना छनौट गरी माघ महिना सम्म सम्झौता गर्ने प्रावधान छ । तर, धेरैजसो योजना जेठ १५ गतेपछि मात्र सम्झौता गरिएका छन् । कोरोना भाइरस महामारीको कारण यसवर्ष योजनाको रकम सिध्याउन असार अन्तिममा धमाधम काम गरिरहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !