जनकपुरधाम, असार ५ गते । कृषि उत्पादनमा सहजताका लागि किसानहरुलाई ५० प्रतिशत अनुदानमा धनुषाको मिथिला नगरपालिकाले साना कृषि यन्त्र ‘उडर’ वितरण गरेको छ ।
मिथिला नगरपालिकाको कृषि विकास शाखा कार्यालय मार्फत नगरभित्रका २८ जना कृषकलाई ५० प्रतिशत अनुदानमा ‘उडर’ (खेत गोडमेल गर्ने मेसिन) वितरण गरिएको हो ।
कार्यक्रममा नगरपालिकामा मेयर हरिनारायण महतोले कृषि उत्पादनमा बृद्धि ल्याउन अनुदानमा कृषि यन्त्र उपलब्ध गराएको बताए । कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव भइरहेको र अहिलेको अवस्थामा कृषि यन्त्रको प्रयोग गरेर थोरै जनशक्तिबाट बढीभन्दा बढी लाभ लिन सकिने उनको भनाइ थियो ।
परापूर्वकालदेखि प्रयोग हुँदै आएको कृषि विधिबाट अबको समयमा प्रर्याप्त उपलब्धी लिन नसकिने हुँदा आधुनिक कृषि प्रणालीलाई अपनाउनु पर्नेमा मेयर महतोले जोड दिए ।
पहिलो चरणमा २८ जना कृषकलाई उडर मेसिन उपलब्ध गराएको कृषि विकास शाखाका अधिकृत संजयकुमार महतोले जानकारी दिए । उनले दोस्रो चरणमा पावर टिलर तथा मिनि टिलर उपलब्ध गराउने योजना रहेको बताए ।
पावर टिलर र मिनि टिलर आउँदो ८ गते सोमबार वितरण गर्ने कार्यक्रम रहेको छ भने तेस्रो चरणमा चार सय कृषकलाई स्वीचेवल पावर स्प्रे मेसिन वितरण गर्ने अधिकृत महतोले बताए ।
मेसिन भने १० र १२ गते वितरण गर्ने योजना रहेको उनले सुनाए । यो कृषि उपकरण पनि किसानको ५० प्रतिशत अनुदानमै वितरण गर्न लागिएको अधिकृत महतोले जनाए । श्रोत : द पब्लिक टुडे
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !