जनकपुरधाम, असार ४ गते । महोत्तरीको रामगोपालपुर नगरपालिका ३ दोलाठीमा माटोमै पीसीसी ढलान गरी लाखौ रुपैया भ्रष्टाचार गरिएको पाइएको छ ।
प्रदेश २ सरकारको २५ लाख रुपैयामा नगरपालिकाले उपभोक्ता समिति मार्फत दोलाठी दक्षिणवारी टोलमा निर्माण गरेको उक्त सडकमा ग्राभेलिंग नै नगरी माटोमै पीसीसी ढलान गरी लाखौ रुपैया झ्वाम पारेको स्थानीयको आरोप रहेको छ ।
उक्त बाटोका लागि शुरुमा १५ लाख रुपैया छुट्याइएको थियो । तर प्रदेश सरकारको निर्देशिका अनुसार २५ लाख भन्दा कमको योजना गर्न नपाउने प्रावधान अनुसार त्यसलाई २५ लाख रुपैयाको योजना बनाइयो, सो योजना बारे आफूसँग छलफल वा सोधखोज नगरपालिकाले नगरेको वडाअध्यक्ष जयनारायण मण्डलले बताए ।
उनले भने १५ लाखको योजनालाई २५ लाख बनाउनु भनेको स्वतः १० लाख भ्रष्टाचार रहेको उनको दाबी छ । इस्टीमेट अनुसार १० ईन्च ग्राभेलिंग र ६ ईन्च ढलान गर्नुपर्ने उक्त बाटोमा ग्राभेलिंग नै नगरी केही माटो गिराएर त्यसमा मुश्किलले ३/४ ईन्च ढलान गरिएको छ ।
उक्त बाटो इस्टीमेट अनुसार नबनेको र भ्रष्टाचार भएको भनी निकै टिकाटिप्पणी भइरहेको जिज्ञासा आफूले नगरपालिकाका मेयर अशोक मण्डलजी समक्ष राख्दा उनले प्रदेश सरकारको बजेट र नगरस्तरीय योजना रहेकोले यसमा वडाले चासो लिनु जरुरी छैन भनी हप्काएर पठाइ दिएको वडाध्यक्ष जयनारायणले बताए ।

एकहप्ता अगाडि नै सो बाटोको मेयर अशोक मण्डल र उपमेयर सीता देवी साहले संयुक्त रुपमा गरेको थियो । २५ लाखको योजना एक हप्तामै उपभोक्ता समितिले सम्पन्न गरिसकेको छ ।
नगरस्तरीय रहेको उक्त योजनाको उपभोक्ता समिति वडाध्यक्ष र कुनै स्थानीयलाई जानकारी नै नदिई वडा सचिव राजकुमार मण्डल पहलमा बालबोध मण्डलको अध्यक्षतामा गोप्य रुपमा गठन गरियो । सो समितिका रहेकाहरुलाई थाहै छैन आफू उपभोक्ता समिति छु तर तिनीहरुको हस्ताक्षर समेत नक्कली गरी सम्पन्नताको अनुगमन र निरिक्षण समेत सम्पन्न गरिसकिएको श्रोतको भनाई छ ।
माटोमै पीसीसी ढलान गरी लाखौ रुपैया भ्रष्टाचार गरिएको भन्ने जिज्ञासामा उपभोक्ता समिति अध्यक्ष बालबोध मण्डलले पन्छिदै भने समाजिक संजालमा भाइरल भएको फोटोको सडक योजनामै छैन । मूल सडकको अधुरो योजना हो त्यो, सो सडकको काम सम्पन्न भइसकेपछि स्थानीयलाई आवात जावत गर्न ढलान गरिएको हो ।
सो बाटोमा पनि ग्राभेलिंग गर्ने योजना थियो तर वर्षा भएको कारण गर्न सकिएन । वर्षातमा ढलान गर्दा बाटो टुटफुट हुन गएको हो । घटना सम्बन्धमा मेयर अशोक मण्डलसँग पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइलको स्वीच अफ रहेको थियो ।
उक्त बाटोका कति दुरीको लम्बाई चौडाइ रहेको बारे कसैलाई थाहा नभएको कारण भ्रष्टाचारमा मेयर, वडा सचिव, अनुगमन गर्ने पदाधिकारी समेतको सहभागिता रहेको निर्माण कार्यले प्रष्ट भइरहेको स्थानीयवासीको भनाई छ । प्रदेश सरकारले एक करोडको दिएको बजेटमा २५ लाख रुपैया बराबरको उक्त बाटोको योजना रहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !