जनकपुरधाम, असार ३ गते । नातावाद परिवारवादमा लागेको भन्दै स्थानीयले जनकपुरधाम उपमहानगरपालिकाका मेयर विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन ।
बुधवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मुसहरी टोलका स्थानीयले मेयर लालकिशोर साह विकास गर्नुको सट्टा भ्रष्टाचार र परिवारवाद नातावादमा लागेको आरोप लगाउंदै उपमहानगरपालिका कार्यालय अगाडि घण्टौ नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन ।

प्रदर्शनकारीहरुले भ्रष्टाचारी मेयर मुर्दाबाद, उपमहानगरपालिकामा परिवारवाद र नातावाद बन्द गर, भ्रष्टाचारी मेयर राजीनामा दे लगायतका मेयर लालकिशोर साह विरुद्ध नाराबाजी गरेका छन ।
मुसहरी टोल हुँदै बेंगाशिवपुर जाने बाटो महिनौदेखि हिलो र खाल्डो भएको कारण स्थानीयलाई आवात जावत गर्ने समस्या हुँदै आएको र दिनहुँ सवारी दुर्घटना भइरहेकामा पटक पटक ताकेता गर्दा पनि समस्या समाधानका लागि उपमहानगरपालिकाले कुनै चासो नलिएपछि स्थानीय आक्रोशित भएका हुन ।
स्थानीयले हिल्लो र खाल्डो पुरेर पानीको निकासका लागि करीब दुई महिना अगाडि नै कृष्ण युवा क्लबको अगुवाईमा वडा कार्यालयबाट सिफारिस लिएर गएको तर उपमहानगरापालिकाले कुनै चासो नलिएपछि स्थानीयवासी आक्रोशित भई मेयर साह विरुद्ध नाराबाजी र प्रदर्शन गरेको वडा अध्यक्ष शत्रुध्न साहले बताए ।
उनले भने सिफारिस गरिसकेपछि आफू स्वयं मेयर र उपमेयरलाई समस्या समाधानका लागि तत्काल केही टिपर मलबा सो स्थान झार दिन आग्रह गर्दा गर्दै थाकिसकेपछि तर मेयरले कुरै सुन्न चाहदैन उल्टै हप्काउने गरेको छ ।
उपमहानगरपालिका कार्यालय अगाडि प्रदर्शनमा उत्रेका स्थानीयहरुले मेयर साह विकास गर्नुको सट्टा भ्रष्टाचारमा लिप्त रहेको र परिवार तथा नातागोता मान्छेलाई भर्ती केन्द्र बनाएका छन ।
विकास पनि जाति र मान्छे हेरेर गर्ने गरेको आरोप लगाए । चुनाव जिते लगतै मेयर साहलाई सो बाटो बनाई दिन निवेदन र मौखिक ताकेता गर्दै आएको छु । तर सो बाटो हालसम्म बन्नुको त कुरै छाडौ, माटो वा मलबा समेत गिराउन नसकेको एक प्रदर्शनकारीले गुनासो गरे ।
घण्टा प्रदर्शन पश्चात उपमेयर रीता मिश्रले स्थानीयहरुसंग नदी किनारमा रहेका अवैध वस्ती तत्काल हटाउने र हिलो तथा खाल्डो भएका बाटोमा ८ दिनभित्र माटो ग्राभेल गर्ने दुई बुँदे सहमति जनाएका छन । ८ दिनभित्र समस्या समाधान नभए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी समेत स्थानीयवासीले दिएका छन ।
यता उपमेयर मिश्रले नदी किनारमा रहेका टहरा हटाउन र बाटो ग्राभेलिंगका लागि निवेदन धेरै दिनअघि नै आएको स्वीकार गर्दै भनिन उपमहानगरपालिकामा अधिकृत नरहेको र कानूनी प्रक्रियाका कारण ढिलाई हुन गएको हो ।
उपमहानगरपालिकाले बाटो मरम्मत सम्भारका लागि एक करोड १९ लाख रुपैया छुटयाएपनि कार्यविधिको कानूनी जटिलताले सो बाटो मात्रै होइन नगरको अन्य बाटोमा पनि समस्या हुन गएको हो । तर चाँडै नै हामी बाटो मरम्मत सम्भार सम्बन्धी कार्यविधि बनाएर बेंगाशिवपुर सहित अन्य बाटो पनि मरम्मत सम्भार गर्नेछौ भनिन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !