जनकपुरधाम, असार २ गते । कोरोना भाइरसको अति उच्च जोखिममा रहेका प्रदेश २ को राजधानीमा विभिन्न बहानामा लकडाउन उल्लंघन क्रम तिव्र रुपमा बढेको छ ।
केही दिनअघि सबैलामा मृत्यु भएका शम्भु सादालाई न्यायको मांग गर्दै प्रदर्शन कयौं दिन प्रदर्शन गरियो भने मंगलवार प्रतिपक्षी दल कांग्रेस समेतले विभिन्न मांग राख्दै लकडाउनको उल्लंघन गर्दै एक सयभन्दा बढीको सहभागितामा नगरभित्र जुलुस प्रदर्शन गरेका छन ।
लकडाउन खुकुलो पार्न व्यवसायिक र वित्तिय संस्था सहित सरकारी कार्यालय खोल्न छुट दिइएपनि सभा, सम्मेलन, प्रदर्शन, सेमिनार र तालिम लगायतका कुनैपनि कार्यक्रम नगर्न भनिएपनि लकडाउनको धज्जियाँ उडाउंदै प्रदर्शन र विभिन्न कार्यक्रम जनकपुरधाममा केही दिनदेखि आयोजना हुँदै आएको छ ।
उचित व्यवस्थापनको आभावमा सरकारी कार्यालय, बजार र वित्तिय संस्थामा सेवा लिने जानेहरुबीच जान अन्जानमा लकडाउनको उल्लंघन र उच्च सर्तकतामा कमी रहदै आएकै अवस्थामा अब बुद्धिजीवी र राजनीतिकर्मीहरुद्वारा प्रदर्शन, भेला र विभिन्न कार्यक्रमको नाममा लकडाउनको उल्लंघन हुन थालेको छ ।
नेपाली कांग्रेस धनुषाले शम्भु सादालाई न्याय दे, कोरोना महामारी विरुद्धको लडाई सुव्यस्थित गर, कोरोनाको आडमा भ्रष्टाचार बन्द गर, किसानलाई मल, खाद्य, विजको व्यवस्था गर र तिन महिनाको कर, बैंक ब्याज मिनाहा गर लगायतका मांग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने नाममा प्रदर्शन गरेका हुन ।

लकडाउन खुकुलो पारिएको अवसरको फाइदा उठाउंदै २५ जनाभन्दा बढीको सहभागिता नहुने गरी भनेर विभिन्न प्रदर्शन, भेला र कार्यक्रमहरुको आयोजना हुन थालेको छ । वैश्विक महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनलाई पालना गराउन सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय धनुषा असफल देखिएको हो ।
नगरमा प्रदर्शन र भेला मात्र होइन विभिन्न कार्यक्रमहरु समेत आयोजना हुन थालेको छ । कोरोना भाइरसको संक्रमण प्रदेश २ मा तिव्र गतिमा बढदै गएको अवस्थामा यस्तो प्रदर्शन र कार्यक्रम आयोजना गर्नु सहभागीलाई मात्र होइन अन्य व्यक्तिलाई समेत जोखिममा पार्न सक्ने सम्भावना बढेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !