जनकपुरधाम, असार २ गते । वैश्विक महामारी कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनको प्रदेश २ मा एक मन्त्रीकै उपस्थितिमा उल्लंघन गरी कार्यक्रम आयोजना गरिएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देशैभरि सबै पत्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, भेला र प्रदर्शनमा रोक लगाइएको छ । तर जनकपुरमा प्रदेश सरकारका एक मन्त्रीकै उपस्थितिमा लकडाउन उल्लंघन हुने गरी कार्यक्रम आयोजना गरियो ।
मंगलवार गैर सरकारी संस्था मानव विकास केन्द्रले प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र विशिष्ट अतिथि शहीदनगर नगरपालिकाका मेयर उदय बरबरियाको आतिथ्यमा आफ्नो दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सहभागी मध्ये केहीले सामाजिक दूरी कायम गरेको देखिएपनि मंचमा बसेका प्रमुख अतिथि, विशिष्ट अतिथि र अध्यक्षता ग्रहण गरेका संस्थाका अध्यक्षबीच दुई मीटरको सामाजिक दूरी कायम गर्नु पर्नेमा एक मीटरको दूरी पनि कायम गरेको देखिएन । कानून पालना गराउने निकाय प्रदेशका मन्त्री र मेयरद्वारा नै लकडाउन उल्लंघन हुनु भनेको कानूनी राज्यको उल्लंघन भएको स्थानीयको ठहर छ ।
पछिल्लो पटक संघीय सरकारले लकडाउन खुकुलो पार्दै सबै स्थानीय तह र प्रदेशमा लागू हुने गरी २१ र १५/१५ दिन गरी तीन चरणमा लकडाउनको अवधि तोकियो । पहिलो चरणको २१ दिनभित्र व्यवसायिक र वित्तिय संस्था संचालन गर्न भनिएपछि शैक्षिक संस्थान, आन्तरिक एवं अन्तराष्ट्रिय उडान, सबै प्रकारका गोष्ठी, सेमिनार, तालिम, भेला, प्रदर्शन, धार्मिम स्थल, सपिंग मल, यात्रुवाहक सवारी साधन लगायतको संचालनमा रोक लगाएको छ ।

संघीय सरकारको निर्देशन पालना गराउन जिल्ला प्रशासन कार्यालय धनुषा समेतले लकडाउनमा के के गर्ने÷नगर्ने सूचना समेत जारी गरेका छन । तर अतिउच्च जोखिममा रहेका प्रदेश २ कै राजधानी जनकपुरधाममै मानव विकास केन्द्रद्वारा सरोकारवाला निकायको आतिथ्यमा लकडाउनको उल्लंघन गरेको देखिएको छ ।
यस सम्बन्धमा केन्द्रका अध्यक्ष कुन्दन झाले भने हामीले सामाजिक दूरी र २५ जनाभन्दा कमको सहभागिताको पालना गरेर कार्यक्रम आयोजना गरेका छौं भनी लकडाउनको उल्लंघन नगरेको दाबी गरेका छन । तर सो कार्यक्रममा ४० जनाभन्दा बढी व्यक्तिको सहभागिता रहेको देखिएको थियो ।
झाले लकडाउनको उल्लंघन नगरेको दाबी गरेपनि मंचमा प्रमुख अतिथि र विशिष्ट अतिथि सहितबीच दुई मीटरको सामाजिक दूरी कायम हुन नसकेको स्वीकार गरेका छन । लकडाउनमा कार्यक्रम आयोजना गर्नु कतिको उचित भन्ने जिज्ञासामा उनले भने जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा कमको सहभागितामा कार्यक्रम गर्न पाइने जारी गरेको सूचनाको आधारमा गरेको हुँ ।

झाले जिल्ला प्रशासन कार्यालयको सूचनालाई आधार बनाएपनि जिल्ला प्रशासन कार्यालयको सूचनामा २५ जनाभन्दा कमको सहभागितामा कार्यक्रम गर्न पाइने भनी कहिं पनि उल्लेख गरिएको छैन ।
लकडाउन अवधिमा आयोजित कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्नु कतिको उचित सम्बन्धमा जिज्ञासा राख्न खोज्दा पटक पटक सम्पर्क गर्दा मन्त्री यादवको मोबाइल उठेन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !