जनकपुरधाम, जेठ ३२ गते । गत जेठ २७ गते धनुषाको सबैला नगरपालिका ७ लवटोली निवासी अरुण मण्डललाई गोली हानेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतवार महोत्तरी जिल्लाको भिट्ठामोडबाट अरुणको हत्या आरोपमा लवटोलीकै स्थानीय श्रवण मण्डललाई पक्राउ गरिएको कुरा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको नेतृत्वमा खटिएको विशेष टोलीले श्रवणलाई भिट्ठामोडबाट पक्राउ गर्न सफल भएका हुन ।
उनका अनुसार घटनामा ५ जनाको संलग्नता रहेपनि मुख्य अभियुक्त श्रवण नै हुन । अन्य चार जना आरोपीको खोजीका कार्य जारी रहेको छ ।
प्रहरीका अनुसार गाँजा पिउने क्रममा सामान्य विवाद हुँदा १९ वर्षीय श्रवणले २५ बर्षीय अरुणमाथि गत जेठ २७ गते राति गोली प्रहार गरी हत्या गरेका थिए ।
श्रवण, अरुणसहितका युवाहरु घर नजिकैको पोखरीमा गाँजा पिउन बाहिरिएका थिए । गाँजा पिउँदै कुराकानी गरिरहेको अवस्थामा एकआपसमा सामान्य विवाद भयो त्यही विवादका क्रममा श्रवणले अरुणमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।
सामान्य विवादकै क्रममा अरुणमाथि गोली चलाएको श्रवणले प्रहरी समक्ष स्वीकार गरेको डीआइजी सिंहले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !