वीरगञ्ज, जेठ २८ गते । लकडाउको मौका छोपी एम्बुलेन्समा गाँजा तस्करी गर्ने आरोपमा प्रहरीले पर्साबाट ३ जनालाई पक्राउ गरेको छ ।
कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनको फाइदा उठाउंदै एम्बुलेन्सबाट लागू औषध गाँजा तस्करी भइरहेको खबरको आधारमा चेकजाँच गर्दा वीरगञ्ज महानगरपालिका २७ रामपुर टोल नजिक गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अल्पाइन मेडिकल कलेज शिक्षण अस्पताल सिमरा, बाराको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सलाई ५६ किलो गाँजा बोकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दीका जीतबहादुर वाइवा र दिलबहादुर वाइवा र पर्साका हरिशंक महतो रहेको छ ।
पछिल्लो समय लकडाउनको मौका छोपेर एम्बुलेन्समा बिरामीको बाहनामा मान्छे ओसार्ने र अवैध सामग्री ओसारपसार गर्ने घटनामा वृद्धि हुँदै गएको छ । केही दिनअघि सर्लाहीबाट समेत एक एम्बुलेन्स गाँजा सहित पक्राउ परेको थियो ।
यसैबीच पर्सा प्रहरीले तेल टयांकरमा अवैध मदिरा ओसार पोसार गर्ने आरोपमा मदिरा सहित दुईजनालाई समेत पक्राउ गरेको छ ।
प्रदेश प्रहरीका अनुसार लकडाउनको मौका छोपी तेल टयांकरमा मदिरा ओसार पोसार गर्ने आरोपमा चालक मकवानपुर जिल्ला हेटौडा निवासी सन्दीप थिङ र सह चालक राधे बुढाथोकीलाई मदिरा सहित पक्राउ गरिएको हो ।
प्रहरी गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा राजश्व छली चोरी निकासी गरी भारत तर्फ क्रममा ना.२ ख ७३७५ नम्बरको तेल ट्यांकरबाट गोल्डेल ओक ४८ थान, नेपाल आईस बियर २४ थान, सिग्नेचर ३३ थान, भोड्का २८ थान सहितका मदिरा बराम गरेको हो ।
अवैध मदिरा रक्सी सहित निजहरुलाई नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !