जनकपुरधाम, जेठ २८ गते । प्रहरी हिरासतमै एक अभियुक्तले आत्महत्या गरेको घटनाले धनुषाको सबैको अवस्था तनावग्रस्त बनेको छ ।
इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका १२ बरकुर्बाका २३ वर्षीय शम्भु सदाको शव झुण्डिएको अवस्थामा फेला परेपछि सो क्षेत्रका स्थानीयवासी प्रहरीले मारेको भन्दै प्रहरी विरुद्ध विरोध प्रदर्शनमा उत्रेका छन ।

स्थानीयवासीले इलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीको भ्यानमा समेत तोडफोड समेत गरेका छन् । उनीहरुले घटनाको छानविन गरी दोषी प्रहरीमाथि कारबाही गर्न मांग गर्दै विरोध प्रदर्शनमा उत्रेका हुन ।
अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले केही राउण्ड हवाई फायर र लाठी चार्ज समेत गरेको बुझिएको छ । हाल प्रहरीले भीडलाई नियन्त्रण गरेपनि युवाको जमात ठाउँ ठाउँमा प्रदर्शन गरि नै रहेका छन । सो क्षेत्रमा व्यापक संख्यामा अहिले प्रहरी परिचालन गरिएको छ ।
यता प्रहरीले हिरासतमा रहेका शम्भुले आत्महत्या गरेको दाबी गर्दै आएका छन । टयाक्टर चालक रहेका शम्भु हिरासतको शौचालय भित्रै छानोमा आफ्नै सर्ट, भेस्टले पासो लागेको अवस्थामा मंगलबार राति साढे २ बजे सदा मृत भेटिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन ।
उनले आत्महत्या किन गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
गत जेठ १२ गते ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !