काठमाडौ, जेठ २५ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवाद पार्टी मिलेर नवगठित जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ ।
दुवै दलबीच पदाधिकारी चयनमा सहमति मिलेपछि दल दर्ताको अन्तिम म्याद आइतवार दिउंसो निर्वाचन आयोगको कार्यालयमा पुगेर दर्ता गराएको हो ।

सहमति अनुसार नवगठित जसपाको अध्यक्षद्वयमा राजपाबाट महन्थ ठाकुर र सपाबाट उपेन्द्र यादव छन् । त्यसैगरी पार्टीको वरिष्ठ नेताद्वयमा राजेन्द्र महतो र अशोक रहेका छन भने डा. बाबुराम भट्टराईलाई परिषदका नेताको रुपमा राखिएको छ र अन्य नेताहरुको नामावली मात्र बुझाइएको छ ।
सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । सहमति पश्चात गत बैशाख १० गतेका दिन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरण सहितको नयाँ दल दर्ताका निवेदन दर्ता गराएका थिए ।
तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन । निवेदन दर्ताको ४५ दिनभित्र पार्टी दर्ता गराइ सक्नुपर्ने प्रावधान अनुरुप आज ५ जना पदाधिकारीमा टुंगो लागेपछि पार्टी दर्ताको प्रक्रिया अघि बढाइएको छ ।
हुनत ४५ दिन शनिवार नै पुगेको थियो तर विदाको दिन परेको हुनाले आइतवार दर्ता भएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !